३० भदौ, काठमाडौँ । कोभिड–१९ को कारण मंगलबार थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना महिला र ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण सिराहाकी ३५ वर्षीय एक महिला, बाराकी ५५ वर्षीय एक महिला, काठमाडौँकी ८६ वर्षीय एक महिला र रुपन्देहीकी ६४ वर्षीय एक महिलाको मृत्यु भएको छ ।
त्यस्तै सर्लाहीका ६४ वर्षीय एक पुरुष, बाराका ५५ वर्षीय एक पुरुष, काठमाडौँका ३४, ६६ र ९६ वर्षीय तीन पुरुष, मकवानपुरका ६१ वर्षीय एक पुरुष तथा कपिलवस्तुका ५८ वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।