११ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७९/०८० का लागि वार्षिक शैक्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले एकीकृत प्रवेश परीक्षासहित विद्यार्थी भर्ना सम्बन्धी कार्यक्रमहरु समावेश भएको शैक्षिक कार्यतालिका मंगलबार प्रकाशन गरेको हो ।
कार्यतालिकाअनुसार स्नातक तहको परीक्षा सञ्चालन र नतिजा प्रकाशन माघको दोस्रो र तेस्रो साता हुनेछ भने स्नातकोत्तर तह तथा स्पेसियालिटीसहितका कार्यक्रमहरुको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन कार्तिक तेस्रो साता हुनेछ ।
त्यस्तै डिएम-एमसिएच तथा सव–स्पेसियालिटीजसहितका कार्यक्रमहरुको परीक्षा सञ्चालन र नतिजा प्रकाशन असोज दोस्रो हप्तामा हुने आयोगको कार्यतालिकामा प्रकाशित छ ।
आयोगले कोभिडका कारण शैक्षिक कार्यक्रमहरुको कार्यतालिका समायोजन गर्दै जाँदा २०७९ पछि प्रत्येक तहगत कार्यक्रमहरु ३ महिना अगाडी सर्न सक्ने जनाएको छ ।
