२४ भदौ, काठमाडौं । नेपालमा बुधबार थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ पिसिआर परीक्षण भएकामध्ये १ हजार ८१ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ४९ हजार २ सय १९ पुगेको छ । जसमध्ये बुधबारसम्म ३३ हजार ८ सय ८२ जना भने निको भइसकेका छन् । अब नेपालमा १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ९ सय १८ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको दर ६८.८ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ७ हजार ९ सय ८८ जना संस्थागत आइसोलेसनमा र ६ हजार ८ सय १५ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ५ हजार ४ सय ८० जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालभर बुधबार १६२ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् । भने २२ जना भेन्टिलेटरमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमण मुक्त छन् ।