१६ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट मंगलबार थप ११ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरुमा एक बालिका र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय महोत्तरीकी ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
त्यस्तै महोत्तरीका ३७ वर्षीय एक पुरुष, सिराहाका ६५ वर्षीय एक पुरुष, पर्साका ५३ र ८० र ६० वर्षीय तीन पुरुष, बाराका ६० वर्षीय पुरुष, चितवनका ५२ वर्षीय पुरुष, काठमाडौँका ७० र ३५ वर्षीय दुई पुरुष, र मकवानपुरका ५८ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ । संक्रमितमध्ये ०.५९ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।