६ साउन, काठमाडौं । नेपालमा मंगलबार थप १५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार ४७७ कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।
३ हजार ९६३ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा २७ ओटा प्रयोगशाला मार्फत ३ हजार ९६३ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये १५० जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
२१ हजार ७०४ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल २१ हजार ७०४ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ४७७ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
६०९ जना निको भए
पछिल्लो २४ घण्टामा ६०९ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म १२ हजार ४७७ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ६९.३४ प्रतिशत संक्रमण मुक्त भएका हुन् । मंगलबार सम्म ७ ओटा जिल्लाहरु कोरोना मुक्त भएका छन् ।