६ साउन, काठमाडौं । विश्व महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण भएकामध्ये नेपालमा ६९.३४ प्रतिशत उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा मंगलबारसम्म १२ हजार ४ सय ७७ जना कोरोना संक्रमित निको भइसकेका छन् । नेपालमा हालसम्म १७ हजार ९ सय ९४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क रहेको छ ।
मंगलबार सम्म मुलुकभर ५ हजार ४७७ कोरोनाको सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण हालसम्म ४० जनाले ज्यान गुमाएका छन् ।
मंगलबार १५० जना कोरोना संक्रमित थपिएका छन् भने ६०९ जना निको भएर घर फर्किएका छन् । पछिल्लो समय नेपालमा कोरोनाका नयाँ संक्रमित थपिने भन्दा संक्रमण मुक्त हुनेको दर बढी देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २१ हजार ७ सय ४ जना क्वारेन्टिनमा रहेका छन् । मन्त्रालयका अनुसार क्वारेन्टिनमा बस्नेको संख्या पनि घट्दै गइरहेको छ ।
नेपालमा नयाँ कोरोना संक्रमणको ग्राफ घट्दो छ भने उपचारपछि निको हुनेहरुको संख्या भने बढीरहेको देखिएको छ ।
मंगलबारसम्म प्रदेश नं.१ का भोजपुर, पाँचथर, धनकुटा र संखुवासभा, बागमती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ् र मुस्ताङ् गरी ७ ओटा जिल्लाहरु कोरोना मुक्त भएका छन् ।