१३ असोज, काठमाडौँ । नेपालमा मंगलबार १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८० नमुना परीक्षण गरिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । जसमध्ये ५५ हजार ३ सय ७१ जना निको भइसकेका छन् । अब नेपालमा २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ७ सय ३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७२.६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ९ हजार ६ सय ८९ जना संस्थागत आइसोलेसनमा र १० हजार ७ सय ७ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ५ हजार ७ सय ७८ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालभर मंगलबार २ सय १३ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ३४ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला संक्रमण मुक्त छन् ।