३१ भदौ, काठमाडौँ । नेपालमा बुधबार थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय ४ जना महिला र १ हजार १ सय ३५ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ पिसिआर परीक्षण भएकामध्ये १ हजार ५ सय ३९ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । जसमध्ये ४१ हजार ७ सय ६ जना निको भइसकेका छन् । अब नेपालमा १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ६८ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७१.५ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ८ हजार ५ सय ४१ जना संस्थागत आइसोलेसनमा र ७ हजार ७ सय १ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार ८ सय २० जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालभर बुधबार १७३ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् भने २६ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला संक्रमण मुक्त छन् ।