१९ असोज, काठमाडौँ । नेपालभर सोमबार थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ८१ नमुना परीक्षण गर्दा ९ सय ३७ महिला र १ हजार ५ सय ३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ । जसमध्ये ६५ हजार २ सय २ जना निको भइसकेका छन् । अब नेपालमा २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
हाल ११ हजार १ सय ९१ जना संस्थागत आइसोलेसनमा र १२ हजार ६ सय १३ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार ३३ जना क्वारेन्टिनमा रहेका छन् ।
सोमबार देशभरी २ सय ४४ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ४३ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै १९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, रुकुमपूर्व र डोल्पा ४ जिल्ला संक्रमण मुक्त छन् ।