१२ साउन, काठमाडौं । नेपालमा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा जिल्ला विरगञ्ज महानगरपालिका–१० निवासी भारतीय नागरिक ६५ बर्षीय पुरुषको मृत्यु भएको छ । उनको साउन ११ गते बिहान गण्डक कोभिड अस्पताल, विरगञ्जमा मृत्यु भएको हो । उनी मुटु तथा मधुमेहका रोगी भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै धनुषा जिल्ला सहिननगर नगरपालिका–०८ डुमरिया निवासी ३६ बर्षीय पुरुषको मृत्यु भएको छ । उनको साउन ११ गते मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि साउन १० गते प्रादेशिक अस्पताल जनकपुरको इमर्जेन्सीमा गएका उनलाई आइसियुमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएकोमा अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
बारा जिल्ला फेटा गाउँपालिका–०३ निवासी ६० बर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनको त्रिवी शिक्षण अस्पतालमा आज मृत्यु भएको हो । मृतक निमोनिया, मस्तिष्कघात तथा मृगौला सम्बन्धी रोगबाट पिडित थिए ।
योसँगै नेपालमा कोभिड–१९ का कारण ४८ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म १८ हजार ७५२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये १३ हजार ७ सय ५४ (७३.३५ प्रतिशत) संक्रमण मुक्त भएका छन् ।