२५ साउन, काठमाडौं । नेपालमा आइतबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । अब नेपालमा ६ हजार ५४४ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
८ हजार ५१५ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ८ हजार ५१५ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये ३८० जनाको रिपोर्ट पोजिटिभ आएको हो । नेपालमा हालसम्म ४ लाख ४३ हजार ८०४ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
११ हजार ३८ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल ११ हजार ३८ जना क्वारेन्टिनमा रहेका छन् । देशका विभिन्न भागमा विशेष गरी देश बाहिरबाट आएकाहरुमा संक्रमणको सम्भावना हुने हुँदा अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था छ ।
४० जना निको भए
पछिल्लो २४ घण्टामा ४० जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १६ हजार ३५३ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए । ७१.१ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।