१५ असार, काठमाडौं । नेपालमा सोमबार थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । जसमध्ये १ हजार ५८६ जना महिला र ११ हजार ६६२ जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११२ जना महिला र ३६४ जना पुरुष गरी ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
एकको मृत्यु
रौतहटका ३० बर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ । पाटन अस्पतालमा उपचाररत उनको १३ गते मृत्यु भएकोमा १४ गते साँझ कोभिड १९ पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।
१२१ जना निको भए
संक्रमितमध्ये अहिलेसम्म ३ हजार १३४ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना महिला र १०८ जना पुरुष गरी १२१ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।