२१ भदौ, काठमाडौं । नेपालमा आइबार थप ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ९० महिला र ६ सय ९० पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ जनाको पिसिआर परीक्षण गर्दा ९ सय ८० जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ४६ हजार २ सय ५७ पुगेको छ । नेपालमा हाल १७ हजार २७ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म २८ हजार ९ सय ४१ जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ६३ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ९ हजार २ सय १ जना संस्थागत आइसोलेसनमा र ७ हजार ८ सय जना होम आइसोलेसनमा रहेका छन् । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ७ सय ३ जना रहेको छ ।
हाल १७४ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् । भने २७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमण मुक्त भएका छन् ।
गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको ज्यान गएको छ जसमध्ये २ जना महिला र ७ जना पुरुष रहेका छन् ।