२० भदौ, काठमाडौँ । योग तथा प्राकृतिक चिकित्सक संघले केहि दिन यता विभिन्न युट्युवहरुबाट कोरोनाबारे भ्रामक अभिव्यक्ति दिइरहेका पूर्ण शाही लगायतका व्यक्तिहरु प्राकृतिक चिकित्सक नभएको जनाएको छ ।
आफुलाई डाक्टरको रुपमा परिचय दिइरहेका उनले केहि समय यता युट्युव लगायतका अनलाइन माध्यमहरुमार्फत कोरोनाबारे विभिन्न भ्रामक अभिव्यक्ति दिँदै आएका छन् ।
संघले केहि समय देखि पूर्ण शाही लगायतका केहि व्यक्तिहरुले विभिन्न सञ्चारमाध्यमहरु मार्फत दिएका अभिव्यक्तिका कारण समग्र योग तथा प्राकृतिक चिकित्सा र चिकित्सक प्रति नै नकारात्मक अवधारणा बनेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हाे ।
संघका महासचिव डा.रविनलाल श्रेष्ठ हस्ताक्षरित विज्ञप्तिमा भ्रम फैलाउने व्यक्तिहरु प्राकृतिक चिकित्सक दर्ता हुने निकाय नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता नभएको तथा काउन्सिलमा समेत दर्ता नरहेको उल्लेख छ ।
यता नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पनि पूर्ण शाही भन्ने व्यक्ति परिषद्मा दर्ता नरहेको व्यहोरा जानकारी गराएको छ ।
कोरोनाबारे निजहरुको अभिव्यक्तिलाई विश्वास नगरिदिन र प्राकृतिक चिकित्सक हो वा होइन एकिन गरेर मात्र निजहरुको अभिव्यक्ति सम्प्रेशन गर्न सञ्चार माध्यमहरुलाई संघले अपिल गरेको छ ।
संघले उनीहरुलाई तत्काल कार्वाही गर्नका लागि समेत सम्बन्धित निकायसँग माग गरेको छ ।
केहि समय देखि विभिन्न गैरचिकित्सकहरुले चिकित्सकको नाममा कोरोनाबारे अफवाह फैलाउने क्रम तीब्र बनेपछि विभिन्न चिकित्सकसँग सम्बन्धित संघ–सँस्थाहरुले विज्ञप्ति प्रकाशन गरिरहेका छन् । यसअघि आयुर्वेद चिकित्सक सँघले पनि यसबारे विज्ञप्ति निकालेको थियो ।