भारतका स्थल र हवाइ मार्गमा चाप बढ्न थालेको १० दिन भइसक्यो । भारत सरकारले २ महिनादेखि जारी लकडाउन क्रमिक रुपमा खुलाउँदै लगेपछि अहिले भारतीय हवाइ र स्थल मार्गमा चाप बढेको छ ।
योसंगै विभिन्न व्यवसाय र कार्यस्थल पनि क्रमश खुल्दै गएका छन्, निर्माण कार्यहरु अघि बढिरहेका छन्, बजारमा भीड बढ्दै गएको छ भने पार्कमा मानिसहरुको उपस्थिति बढ्दै गएको छ । अब पालो रहेको छ होटल, रेष्टुरेन्ट, सपिङ् मल, धार्मिक स्थल, स्कुल र कलेजको ।
लकडाउन खुकुलो हुँदै गएपनि भारतमा संक्रमण झन् फैलिदै गएको छ । भारतमा २५ मार्चमा लकडाउन सुरु हुँदासम्म ५१९ संक्रमण र १० मृत्यु दर्ता भएका थिए तर दुई महिनाको अन्तरालमा यो संख्या १ लाख ७३ हजार कटिसकेको छ भने कोरोनाका कारण मे ३० सम्ममा ४ हजार ९ सय ७१ को मृत्यु भइसकेको छ ।
अघिल्लो साता भारतमा कोरोना संक्रमण दर अहिलेसम्म कै उच्च रह्यो, एक दिनमै करिब ८ हजार मानिसमा संक्रमण देखियो । यसका बाबजुद भारत सरकारले २५ मार्चदेखि सुरु भएको लकडाउन अन्त्य गर्ने र तहगत रुपमा खुकुलो बनाउँदै लैजाने घोषणा भारत सरकारले गरेको छ ।
बुझौं भारत सरकारले लकडाउन खुकुलो बनाउनुको केही कारण:
लकडाउन अब धान्न सकिदैंन
“अब त लकडाउन खुलाउनु नै पर्ने अवस्था आइ नै सक्यो ’, भारतमा संक्रमक रोगका बारे अध्ययन अनुसन्धान गर्दै आएका प्रोफेसर गौतम मेननले बीबीसीलाइ भने ।
“अब यो बिन्दुभन्दा अघि लकडाउन सहन सकिदैंन, लकडाउन अब निकै लामो भएको छ आर्थिक, सामाजिक र मनोवैज्ञानिक हिसावले हेर्ने हो भने पनि ।’
लकडाउनको सुरुवाती दिनदेखि नै भारतको लकडाउनले दैनिक ज्याला मजदुरी गर्ने समुदायलाइ चपेटामा पार्यो । खाद्य आपुर्ती श्रृङ्खलालाइ पनि यसले खतराको संघारमा पुर्यायो भने करोडौंको जीवनपद्तीलाइ पनि असर गर्यो ।
अर्थतन्त्रमा यसले पारेको प्रभावका कारण बेरोजगारी दर बढ्यो भने भारतको आर्थिक विकासलाइ ३० वर्ष यताकै न्यून विन्दुमा धकेल्यो ।
अर्थविद् एवं भारतको केन्द्रिय बैंकका पूर्व गभर्नर रघुराम राजनले अप्रिलको अन्त्यदेखि नै व्यवसाय खुल्नपर्ने अन्यथा त्यसपछि जारी रहने लकडाउन प्रयुत्पादक हुने चेतावनी दिएका थिए ।
“लकडाउनको ध्येय भनेको संक्रमणलाइ नियन्त्रणमा राख्नु र स्वास्थ्य क्षेत्रलाइ थप सबल बनाउनलाइ समय किन्नु थियो र हामीले यसको उपयोग तयारी गर्नलाइ प्रयोग गर्यौं ’, भारतको सार्वजनिक स्वास्थ्य क्षेत्रका विज्ञ डाक्टर एन देवादासनले भने ।
भारतले पछिल्लो २ महिनामा त्यहाँका स्टेडियम, विद्दयालय र ट्रेनलाइ पनि क्वारेन्टिन बनाएको छ भने अस्पतालमा पनि कोरोना वार्ड र परिक्षण दायरा पनि बढाउनुका साथै पिपिइको उत्पादन पनि बढाएको छ ।
“हामीले यो लकडाउनको समयलाइ आफ्नो तयारीको लागि भरपुर प्रयोग गरौं र अब बेला आएको छ हाम्रो अर्थतन्त्रलाइ पुन: जागृत बनाउने’, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले अघिल्लो साता बताएका थिए ।
नकरात्मकताले ल्याएको सकारात्मक परिणाम
लकडाउनको सुरुवाती सातामा भारतमा देखिएको निकै कम संक्रमणप्रति विज्ञहरु विश्वस्त थिएनन् । विश्वको दोश्रो ठुलो जनसंख्या, बेलाबेलामा देखिने अन्य रोगको संक्रमण र निम्न गुणस्तरका सार्वजनिक एवं सरकारी अस्पतालबीच पनि भारतको संक्रमण दर निकै कम रह्यो । परिक्षणको दायरा कम भएकाले संख्या नबढेको आंकलन गरिएको थियो तर पछि त्यो पनि गलत प्रमाणित भयो ।
“मलाइ लाग्छ यो संक्रमण दर अझै बढ्दै जान्छ र ती केसमा लक्ष्यण नदेखिने वा सामान्य लक्षण देखिने हुनेछन् ’, डाक्टर देवादासनले भने ।
भारतमा अहिलेसम्म देखिएको संक्रमणमा मुम्बइको अस्पताल बाहेक अन्य ठाउँका अस्पतालमा शैय्याको अभाव देखिएको छैन । भारतको कोरोना संक्रमितको संख्या असमान रहेको भए पनि यहाँको संक्रमण अन्य देशको जस्तो विकराल नरहेको देखाएको छ ।
भारत सरकारको दाबी अनुसार यहाँ मृत्यु दर पनि ३ प्रतिशत भन्दा कम रहेको छ जुन सारा विश्वको तुलनामा कम हो ।
तर पनि अहिले नै विश्वस्त भएर बस्ने अवस्था भने आइनसकेको भाइरोलोजिष्ट डाक्टर ज्याकोज जोनको दाबी छ । उनका अनुसार भारत सरकारसँग हरेक मृत्युबारे थाहा पाउने संयन्त्र छैन जसका कारण मृत्यु दर निकै कम देखिएको छ ।
“अहिले हामीले विशेष ध्यान दिनुपर्ने भनेको मृत्युदर घटाउनु हो यसको संक्रमण दर मात्रै होइन ।’
डाक्टर जोनले भारतमा जुलाइ वा अगष्ट महिनामा मात्रै कोरोना संक्रमण उच्चतम विन्दु वा पिकमा पुग्ने अनुमान गरेका छन् र अहिलेको कदमलाइ हतारको निर्णय भएको दाबी गरेका छन् ।
“सरकारले अहिले लगाइएको लकडाउन व्यर्थ भएको बुझिसकेको छ’, उनले भने ।
अब स्थानियकृत लकडाउन
“अब हामीले ध्यान दिनुपर्ने भनेको स्थानियकृत लकडाउनलाइ हो । त्यसो भए जनसंख्याका हिसावले दोश्रो ठुलो भारतले पिक पर्खिएर बसेको हो?’
डाक्टर मेननले लकडाउन सही समयमा गरिएको निर्णय भएपनि यसले विदेशबाट आउने संक्रमणलाइ मात्रै ध्यान दिएको दाबी गरे ।
“त्यस समयमा कोरोना संक्रमण रोक्नको लागि उक्त उपाय ठिक लागेको थियो तर एअरपोर्टमा गरिएको स्क्रिनिङ् कत्तिको उपयोगी भयो त?’ उनले प्रश्न गरे ।
भारतमा अहिले केन्द्रिय सरकारले राज्य सरकारलाइ कसरी, कहाँ र कुन तरिकाले लकडाउन लम्ब्याउने वा हटाउने निर्णय गर्न दिएको छ ।
महाराष्ट्रमा मात्रै भारतको कुल संक्रमित संख्यामध्ये एक तिहाइ संक्रमित रहेका छन् । यसमा तमिल नाडु, गुजरात र दिल्लीको संक्रमित संख्या जोड्ने हो भने कुल संक्रमितको ६७ प्रतिशत संख्या यी क्षेत्रले ओगट्छन् ।
तर अहिले विहारजस्ता राज्यमा अन्य राज्यमा मजदुरीका लागि गएका श्रमिक फर्किए संगै संक्रमणले विकराल रुप लिदैंछ ।
“सुरुवाती चरणमा संक्रमण शहरी क्षेत्रमा देखिएको थियो त्यस समयमा मजदुरहरुलाइ शहरी क्षेत्रमै राखियो र उनीहरुलाइ तत्काल घर फर्किन दिइएन । अहिले उनीहरु घर गइरहेका छन् भने राज्य सरकारहरुले नै उनीहरुलाइ गाडी र अन्य सुविधा दिएर संक्रमण झन् फैलाउँदै छौं ’ डाक्टर देवादासनले भने ।
तर भारत सरकारले भने लकडाउनका कारण करिब ३ लाख संक्रमण रोकिएको र करिब ७१ हजार मृत्यु रोक्न सकिएको दाबी गरेको छ तर अबका दिनका बारेमा केही पनि बताएको छैन ।