२२ जेठ, काठमाडौं । नेपालमा बिहीबार अपरान्हसम्म नयाँ ३३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार पाल्पा पूर्वखोला गाउँपालिका सिलवाका एक जना ४५ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । उनी ५ दिन अघि भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पाल्पाको मिसन अस्पतालमा ३ दिन अघि भर्ना गरिएकोमा २० गते उनको मृत्यु भएको थियो ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । संक्रमित मध्ये अहिलेसम्म २९० जना निको भएर घर फर्किइसकेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए । आज नारायणी अस्पताल, वीरगञ्जबाट ५ जना र कलैया अस्पताल, बाराबाट ७ जना डिस्चार्ज भएका छन् ।
हालसम्म देशका ६५ जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।