१३ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा भित्र मंगलबार अपरान्ह सम्ममा थप ९० जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणअनुसार ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा महोत्तरी मनहरा गाउँपालिका–१० का ३० र ३५ बर्षीय पुरुषहरु, जुम्ला स्थाई ठेगाना भई हाल बारामा कार्यरत ३५ र ३६ बर्षीय पुरुषहरु, बारा बचौटा नगरपालिका–०१ का १९, ३० र ३५ बर्षीय पुरुषहरु रहेका छन् ।
त्यस्तै रौतहट जिल्ला गौर नगरपालिकाका ९ देखि ४० बर्ष उमेर समूहका ७ जना पुरुष र १ जना महिला गरी ८ जनामा कोरोनाको संक्रमण भएको छ । रौतहट कै देवाही गोनाही नगरपालिका र धर्राही गोनाही नगरपालिकाका १८ देखि ४१ बर्ष उमेर समूहका ६ जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको छ ।
रौतहट कै करुनिया–०१ र ०४ का २६ देखि ४८ बर्ष उमेर समूहका ६ जना पुरुषहरु, रौतहट राजदेवी नगरपालिकाका एक जना २२ बर्षीय पुरुष तथा राजदेवी गरुडा नगरपालिकाका एक जना २४ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ ।
त्यसैगरी सिराहा नवराजपुर गाउँपालिकाका एक जना १८ बर्षीय पुरुष र सिराहाकै भगवानपुर गाउँपालिकाका २५ देखि २९ बर्षीय ४ जना पुरुषहरुमा कोरोना संक्रमण भएको छ ।
धनुषा जिल्ला बेलामुख्यापति गाउँपालिकाका २२ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उनी जनकपुरको कोभिड–१९ अस्पतालमा रहेका छन् ।
भेरी अस्पतालमा गरिएको परीक्षणअनुसार बाँके नेपालगञ्ज–०२ का २२ बर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ ।
त्यस्तै नेपालगञ्जमा मंगलबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा बाँके डुडुवा–०२ का एक जना २० बर्षीय पुरुष, डुडुवा–०३ का २१, ३६ र ४० बर्षीय तीन जना पुरुषहरु, बाँके राप्ती सोनारी–०३ का ४६ बर्षीक एक पुरुष, राप्ती सोनारी–०९ का ३८ बर्षीय एक पुरुष तथा बाँके बैजनाथ–०३ का ३० बर्षीय एक पुरुष रहेका छन् ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणअनुसार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा कपिलवस्तु मायादेवी–०७ का २२ र ५० बर्षीय दुई जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै अर्घाखाची कमला मावि पनेनी–०८ का १९ र ४३ बर्षीय पुरुषहरु, गुल्मी धुर्कोटका २ जना पुरुषहरु तथा रुपन्देही लुम्बिनी अस्पतालका एक जना २२ बर्षीय पुरुषमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।
सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार कैलाली र अछामका १/१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखराको प्रयोगशालामा गरिएको परीक्षणअनुसार स्याङ्जा वालिङ–०७ का २० र २९ बर्षीय दुई जना पुरुषहरुमा कोरोना संक्रमण पाइएको छ । स्याङ्जामा पहिलो पटक कोरोना संक्रमित भेटिएको हो ।
सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी रोग अन्वेषन प्रयोगशालामा गरिएको परीक्षणअनुसार १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा सुर्खेत विरेन्द्रनगर का ९ देखि ४६ बर्ष उमेर समूहका ७ जना पुरुष र १ जना महिला, सुर्खेत भेरीगंगाका १६ र १७ बर्षीय युवकहरु तथा सुर्खेत सिम्टाका ३५ र ४९ बर्षका दुई जना पुरुषहरुमा संक्रमण देखिएको छ ।
त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार बर्दिया गुलरिया–१० का २२ र २४ बर्षीय पुरुष र बर्दिया गुलरिया–२ का १८ बर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अनिरुद्र मा.वि.मा नमुना संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा गरिएको परीक्षणअनुसार कपिलवस्तु जिल्ला यशोधरा गाउँपालिका–०१, ०२ र ०८ का २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा एकजना २ बर्षीय बालिका सँगै १९ देखि ५५ बर्ष उमेर समूहका २३ जना पुरुषहरु रहेका छन् ।
यससँगै नेपालभर कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । संक्रमितमध्ये १५५ जना निको भएका छन् । ४ जना संक्रमितको ज्यान गएको छ । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।