१२ जेठ, काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सफल शल्यक्रिया गरिएको छ ।
पाटन अस्पतालले सोमबार सर्लाही जमुनियाका ३५ बर्षीय पुरुष कोरोना संक्रमितको खुट्टाको नलीको शल्यक्रिया गरेको अस्पतालका निर्देशक डा.विष्णु प्रसाद शर्माले स्वास्थ्य पोष्ट्लाई जानकारी दिएका छन् ।
अस्पतालका प्रा.डा.सुमन श्रेष्ठको नेतृत्वमा सह–प्रा.डा.विमल पाण्डे र सह–प्रा.डा.तोया भट्ट संलग्न ३ सदस्सीय चिकित्सक सहितको टोलीले अपरेशन सम्पन्न गरेको हो । पिपिई सेट पहिरिएर उच्च हौसलाका साथ संक्रमितको शल्यक्रियामा सर्जरी टोली खटेको अस्पतालका निर्देशक शर्माले बताए ।
एक हप्ताअघि सडक दुर्घटनामा परी खुट्टा भाँचिएका उनको शल्यक्रिया गर्नुपर्ने थियो । पाटन अस्पतालमा आएका उनलाई आइसोलेसन वार्डको वेड खाली नभएकोले दुवाकोटको केएमसी अस्पताल रिफर गरिएको थियो । केएमसीबाट आजै अपरेशनका लागि पाटन अस्पताल ल्याइएको हो ।
अपरेशनपछि अहिले उनको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक शर्माले बताएका छन् ।