२० मंसिर, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन भेरियन्ट भेटिएको छ । कोरोना भाइरसको नयाँ उत्परिवर्तन (म्युटेशन) ओमिक्रोन भेरियन्टको संक्रमण नेपालमा पनि देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६६ बर्षीय एक विदेशी नागरिक र उनको सम्पर्कमा आएका एक ७१ बर्षीय व्यक्तिमा ओमिक्रोन भेरियन्टको सक्रमण पुष्टि भएको छ ।
यही मंसिर ३ गते ६६ बर्षीय एक विदेशी नागरिक ओमिक्रोन भेरियन्ट पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए ।
उनी नेपाल आउँदा नियमानुसार पिसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा समेत पूरा गरेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनी र उनको सम्पर्कमा आएका एक ७१ बर्षीय व्यक्तिलाई कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंसिर ७ गते पिसीआर परीक्षण गरिएकोमा नतिजा पोजिटिभ आएको थियो ।
हाल कोभिड–१९ पोजिटिभ आएका नमुनाहरुको अनिवार्य एस–जीन परीक्षण गर्नुपर्ने व्यवस्था अनुसार नमुनाहरुको परीक्षण गर्दा एस–जीन फेला परेको थिएन । ।
एस–जीन टार्गेट फेलर दुवै नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गरिएकोमा मंसिर १९ गते राति नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्ट पुष्टि भएका दुवै जना सरकारले तोकेको मापदण्डअनुसार नै आइसोलेसनमा रहेका छन् भने हाल उनिहरुमा कुनै लक्षण समेत देखिएको छैन ।
उक्त दुई व्यक्तिको सम्पर्कमा आएकाहरुको वृहत रुपमा कन्ट्याक्ट ट्रेसिङ गरिएको तथा सम्पर्कमा आएका ६६ जनाको पिसीआर परीक्षण नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
श्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आंकलन अनुसार दक्षिण पुर्वी एसियामा ओमिक्रोन भेरियन्टको उच्च जोखिम रहेको उल्लेख छ । यो भाइरस सर्र्ने दर संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरुको खोज भइरहेको छ ।