बिबिसी । अक्सफोर्ड युनिभर्सिटीले बनाएको कोरोना भ्याक्सिनको तेस्रो चरणको परिक्षणका क्रममा एक सहभागि बिरामी भएपछि यसको क्लिनिकल ट्रायल अनिश्चितकालका लागि रोकिएको छ । अस्ट्राजेनेका र अक्सफोर्डले संयुक्त रुपमा बनाइरहेको भ्याक्सिन परिक्षणका एक सहभागिको स्वास्थ्यमा समस्या देखिएपछि परिक्षण रोकिएको बिबिसीले जनाएको छ ।
बिरामी परेका ती सहभागि बेलायती रहेको र उनको देखिएको समस्याबारे केही निर्क्यौल नभएको कारण यसको परिक्षण रोकिएको, अस्ट्राजेनेकाले जानकारी दिएको छ । कोरोना भ्याक्सिन बनाउने दौडमा अग्रपङ्तिमा रहेको भनिएको यो परिक्षण नै रोकिएपछि थप अन्यौलता बढेको छ ।
पहिलो र दोश्रो चरणको सफल परिक्षण पश्चात यो भ्याक्सिन अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा तेश्रो चरणको परिक्षणमा रहेको थियो । तेश्रो चरणको परिक्षणमा करिब ३० हजार सहभागि रहेकोमा एकजनामा समस्या देखिएपछि यसलाइ रोकेर छानबिन गरिने र त्यसपछि निस्कने निष्कर्षका आधारमा नै यसको परिक्षणलाइ अघि बढाउने विषयमा निर्क्यौल हुने बिबिसीका मेडिकल एडिटर फर्गुस वाल्सले बताए ।
“ठुलो संख्यामा गरिने परिक्षणका क्रममा केही समस्या आउन सक्छन् तर यसको निष्पक्ष छानविन हुनुपर्छ,”अक्सफोर्डका एक प्रवक्ताले भने । अन्तिम चरणमा रहेको अक्सफोर्डको परिक्षण रोकिएको यो दोश्रो पटक हो ।