१४ असोज, काठमाडौँ । सरकारले कोरोना पिसिआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने ८ ल्याबलाई २४ घण्टा भित्र शुल्क नघटाए अनुमति खारेज गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले २४ घण्टा भित्र तोकिए बमोजिम शुल्क समायोजन नगरे स्वीकृती खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने जानकारी दिए ।
गुणस्तर मापन तथा नियमन महाशाखाको प्रतिवेदन अनुसार ह्याम्स अस्पताल, डिकोर ल्याब, इन्टीपेर ल्याब, नेपाल मेडिसिटि अस्पताल, सिडिएल ल्याब, स्टार अस्पताल, बिएण्डबी अस्पताल र सूर्या हेल्थ केयर लगायतले पिसिआर परीक्षणको बढी शुल्क लिइरहेका छन् ।
प्रवक्ता डा.गौतमका अनुसार बढी शुल्क असुल्ने सबै ल्याबहरुलाई एक पटकलाई चेतावनी दिने र २४ घण्टा भित्र तोकिए बमोजिम शुल्क समायोजन नगरेमा प्रयोगशालाको परीक्षण स्वीकृति खारेज गरी पत्राचार गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय मन्त्रालय स्तरीय इन्सिडेन्ट कमान्ड सिस्टमले गरेको छ ।
स्वास्थ्य मन्त्रालयले गत भदौ २८ गते पिसिआर परीक्षणको शुल्क घटाएर सबै प्रयोगशालाको लागि सबै शुल्क सहित अधिकतम रु. २००० तोकेको थियो ।
सरकारले तोकेको भन्दा बढी शुल्क असुल्ने प्रयोगशालाहरुलाई कालोबजारी गरेको आधारमा प्रयोगशाला बन्द गराउने गरी गृह मन्त्रालय र बाणीज्य विभागलाई कार्वाही गर्न पत्र पठाउने पनि प्रवक्ता डा.गौतमले जानकारी दिए ।
साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुमति नदिएका तथा सुचीकृत नभएका ल्याब तथा विचौलियाका रुपमा कुनै पनि व्यक्ति वा संघ-संस्थाले कोभिड–१९ परीक्षणका लागि नमुना लिने गरेको वा सहजिकरण गर्ने गरेको पाइएमा पनि कडा कार्वाही गरिने मन्त्रालयले जनाएको छ ।