२२ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
रास्वपाको यो निर्णयसँगै नियुक्त भएको बिसौँ दिनमै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्की मन्त्रालयबाट फिर्ता बोलाइएकी छन् ।
प्रतिनिधिसभामा ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित डा.कार्कीलाई गत माघ ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।
राज्यमन्त्री डा.कार्कीसँगै रास्वपाबाट शिक्षामन्त्री शिशिर खनाल र श्रममन्त्री डोल प्रसाद अर्याल पनि आजै सरकारबाट फिर्ता भएका छन् । रास्वपाबाट सरकारमा पार्टी सभापति लामिछानेसहित ४ जना सहभागी भएका थिए ।
नागरिकता प्रकरणमा सवोच्च अदालतको आदेशसँगै सभापति रवी लामिछानेको गृहमन्त्री पद गुमेपछि रास्वपा सरकारबाट बाहिरिएको हो ।
रास्वपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।