Nepal's Trusted Health Online Portal

विश्व क्यान्सर दिवसः उपचार प्रभावकारिताका लागि उपकरण र खोपमा जोड

Get real time updates directly on you device, subscribe now.

२१ माघ । ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ ।

अस्पतालमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बर्सेनि क्यान्सरका कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताउनुभयो । भक्तपुरलाई गुणस्तरीय शिक्षा र स्वास्थ्यको हब बनाउँदै विकास गर्ने नगरपालिकाको योजना रहेको उहाँको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका गुणस्तर, मापदण्ड र नियमन महाशाखाका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका सदस्य डा. मदनकुमार उपाध्यायले समयमै उपचार भए क्यान्सर निको हुन्छ भन्ने सन्देश गाउँगाउँमा पुर्‍याउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा जटिल बन्दै आएको पाठेघरको मुखको क्यान्सरको उपचार गर्न सरकारले नेपालमा खोपलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, क्यान्सर, हृदयाघात, मष्तिस्कघात, फिस्टुला, अल्जाइमरलगायत रोगको निःशुल्क उपचारको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । अस्पतालका चिकित्सक डा रोशन प्रजापतिले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि हरेक जिल्लामा परीक्षण केन्द्र सञ्चालन गर्नुपर्ने, जनचेतना फैलाउनुपर्ने र पाठ्यक्रममा यसबारे सामग्री राख्नुपर्ने बताउनुभयो ।

डा. प्रजापतिका अनुसार भक्तपुर क्यान्सर अस्पतालमा एक वर्षमा ८४ हजार पाँच सय ७९ बिरामीको परीक्षण गरिएको, तीन हजार पाँच सय ८८ नयाँ बिरामी थपिएका तथा  दैनिक ८० देखि एक सय जनासम्म नयाँ बिरामी भर्ना हुने गरेका छन् ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजार र  अस्पतालका कार्यकारी निर्देशक प्रा.डा विष्णुदत्त पौडेलले थप उपकरण जडान गरेर सेवा विस्तार गर्नुपर्ने बताउनुभएको थियो ।  – रासस

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.