८ जेठ, काठमाडौं । गृह मन्त्रालयले उपत्यका प्रवेश गर्ने सबै नाका लकडाउन अवधिभरका लागि सिल गर्न निर्देशन सहित स्थानीय सरकारलाई परिपत्र गरेको छ ।
गृहले अत्यावश्यक काम बाहेक उपत्यका भित्र प्रवेशमा रोक लगाउन निर्देशन दिएको छ । अत्यावश्यक कामका लागि आउनु परेमा प्रवेश गर्नु पूर्व नै सम्बन्धित व्यक्तिले स्वयं आफ्नै खर्चमा उपलब्ध भएसम्म आरडिटी परीक्षणको रिपोर्टका साथ उपत्यका प्रवेशका लागि माग गर्नुपर्नेछ ।
यसअघि काठमाडौं उपत्यका भित्रका सबै स्थानीय तहका जनप्रतिनिधिहरुको सयुंक्त बैठकले सबै नाका सिल गर्नका लागि आग्रह गरेको थियो ।
त्यस्तै गत जेठ १ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, गृह सचीव, सुरक्षा निकायका प्रमुखहरु, काठमाडौं उपत्यका नाका भएका नगरपालिका नगरप्रमुखहरु, उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकमा पनि लकडाउनमा कडीकडाई गर्ने विषयमा छलफल भएको थियो ।
काठमाडौं उपत्यकामा प्रवेश गर्ने क्रम बढेको तथा जनघनत्वका कारण उपत्यका बढी जोखीमपूर्ण भएको विश्लेषण गर्दै गृहले सबै नाकामा कडाई गर्दै आगमन रोक्ने निर्णय लिएको हो ।
त्यस्तै गृहले लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न निर्देशन दिएको छ । पत्रमा काठमाडौं उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नुपूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्ने उल्लेख छ ।
गृहले पठाएको पत्रमा स्थानीय संघसंस्था–क्लबहरुले गरिरहेको सामूहिक राहत वितरण र खाना वितरणले भिडभाड बढ्न गई जोखिम बढाएकोले उक्त कार्य स्थानीय तहसँग समन्वय नभएमा रोक्ने र समन्वय गरी स्वास्थ्य सम्वन्धी प्रोटोकल पालना गरी वितरण गर्ने पनि उल्लेख छ ।