८, जेठ । गुल्मीका कोरोना संक्रमित ४१ बर्षीय शिक्षकको मृत्यु भएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले श्रद्धाञ्जलि जारी गर्दै उनको मृत्युको पुष्टि गरेको हो ।
मन्त्रालयले उनको बिहीबार बिहान उनी उपचाररत क्रिमसन अस्पतालमा मृत्यु भएको जनाएको छ । मृतकको मणीग्राम रुपन्देहीस्थित क्रिमसन अस्पतालको आइसियू कक्षको भेन्टीलेटर सपोर्टमा उपचार भइरहेको थियो ।
सुरुमा ज्वरो आएर स्थानीय स्वास्थ्य संस्थाबाट औषधी सेवन गरेका उनलाई स्वास्थ्यमा थप समस्या भएपछि रुपन्देहीको क्रिमसन अस्पतालमा लगिएको थियो ।
मृतक गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा तथा स्थानीय कंङ्गे देउराली आधारभूत विधालयका प्रध्यानाध्यापक हुन् ।
गुल्मी क्षेत्र नं ३ का सांसद गोकर्ण विष्टले पनि उनको मृत्युको पुष्टि गर्दै फेसबुकमा पोष्ट गरेका छन् । विष्टले उनको मृत्यु प्रति दुख व्यक्त गरेका छन् ।
गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए । कोरोनाको लक्षण महशुस गरेपछि परिवारकै आग्रहमा २ गते स्वाब परीक्षणका लागि ल्याबमा पठाइएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गरिएको उनको रिपोर्टमा कोभिड–१९ पोजिटिभ आएपछि लाइफ सपोर्टका लागि क्रिमसन अस्पतालकै आइसियूको भेन्टीलेटरमा राखिएको थियो ।
यसअघि हिँजो बुधबार बिहान प्रदेश ५ का सामाजिक विकास मन्त्रीले उनको मृत्यु भएको बताएपछि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा खबर यत्रतत्र फैलिएको थियो । तर केही घण्टामै क्रिमसन अस्पतालले उनको मृत्युको खबरको खण्डन गरेको थियो । मृतकका आफन्त (सालाभाई)का अनुसार मृतक शिक्षकको हिँजै देखि नाडी नचलेको भएपनि अस्पतालका डाक्टरले आज बिहान मात्र भेन्टीलेटरबाट झिक्न अनुमति मागेका थिए ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सँख्या ३ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिला र बाँकेका २५ बर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।