८ जेठ, काठमाडौं । नेपालमा बिहीबार बिहान थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापाका १५ जना, धनकुटाका १ जना र सुनसरीका १ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान र कोशी प्रादेशिक अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनीहरु १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका नयाँ संक्रमितहरुमा झापा जिल्ला कचनकवल गाउँपालिका ०३, ०६ र ०८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ बर्षीय पुरुषहरु, धनकुटा निवासी ३४ बर्षीय पुरुष र सुनसरी धरान उपमहानगरपालिका निवासी ५१ बर्षीय महिला रहेका छन् ।
संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गुल्मीका एक शिक्षकको भने अवस्था गम्भिर रहेको र आइसियू कक्षमा भेन्टीलेटर सपोर्टमा उपचार भईरहेको रुपन्देहीस्थित क्रिमसन अस्पतालले जनाएको छ ।
यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या ४४४ पुगेको छ । २ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये ४५ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।