Nepal's Trusted Health Online Portal

आगामी सातादेखि निषेधाज्ञा खुकुलो गर्दै ‘स्मार्ट लकडाउन’ तर्फ जाने

Get real time updates directly on you device, subscribe now.

३ असार, काठमाडौं । कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ ।

प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार राती अबेरसम्म बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेसिया जस्ता देशहरुमा सातामा दुई हजार भन्दा यात्रु नबढ्ने गरी हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

होटलमा क्वारेन्टाइनमा बस्दाको कुल १५ दिनमध्ये १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।
बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको छ ।

यसैगरी, गैर आवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामाग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सङ्क्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न निर्देशन दिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.