१३ असार, काठमाडौं । नेपालमा शनिबार थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । जसमध्ये १ हजार ३६९ जना महिला र १० हजार ९४० जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२० जना महिला र ४३४ जना पुरुष गरी ५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २८ जनाले ज्यान गुमाइसकेका छन् । शनिबार रसुवा जिल्लामा पनि कोरोना संक्रमित भेटिएसँगै नेपालका ७७ जिल्लामा नै कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
१३६ जना निको भए
संक्रमितमध्ये अहिलेसम्म २ हजार ८३४ जना निको भएर घर फर्किइसकेका छन् । डिस्चार्ज हुनेहरुमा २४२ महिला र २ हजार ५९२ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा १८ जना महिला र ११८ जना पुरुष गरी १३६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।