Nepal's Trusted Health Online Portal

भारतले नेपाललाई दियो ३० हजार जनाको कोरोना परीक्षण गर्ने किट

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । भारत सरकारले ३० हजार स्वाव परीक्षण गर्न सकिने पीसीआर किट नेपाल सरकारलाई उपहार स्वरुप आइतबार हस्तान्तरण गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार उक्त किट स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाइ हस्तान्तरण गरेका हुन् ।

भारतको माई ल्वावले उत्पादन गरेको र प्रयोगको लागि भारत सरकारले स्वीकृत गरिसकेका ती किटले नेपालमा करिब ३० हजार मानिसको परिक्षण गर्न सकिने भारतीय दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘भारतीय जनताको तर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप प्रदान गरिएको टेस्ट किटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर टेस्ट गर्न सक्नेछन्,’ दूतावासले जारी विज्ञप्तिमा उल्लेख छ ।

प्याथोडिटेक्ट कोभिड १९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किटबाट तीस मिनेटमै परिक्षण गर्न मिल्ने भारतीय वैज्ञानिकहरुको दाबी रहेको छ ।

‘२०७६ चैत २ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेसँगै यी पहलकदमीको सुरुवात भएको हो । भारत सरकार यस चुनौतीको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाउँदछ ।’ राजदूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसैबीच नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले टेष्ट किट हस्तान्तरण पछि भारत सरकारलाई  सहयोगको लागि ट्वीट मार्फत धन्यवाद दिएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.