जेठ ४, काठमाडौं । सरकारले जारी देशव्यापी लकडाउनलाई १५ दिन थप गरी जेठ २० गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनलाई पूर्ववत रुपमै कायम राखी लम्ब्याउने निर्णय लिएको हो । बैठकले आपूर्ति व्यवस्थालाई सहज बनाई लकडाउनलाई थप कडा पार्ने निर्णय पनि गरेको छ ।
लकडाउन थप गर्ने निर्णय भएको पुष्टि गर्दै एक मन्त्रीले भने ‘जारी लकडाउनलाई १५ दिन थप गरी जेठ २० गते सम्म लम्ब्याइएको छ ।’
यसअघि आइतबार नै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले जारी लकडाउनलाई लम्ब्याउन सिफारिस गरेको थियो ।
सरकारले गत चैत ११ गतेबाट निरन्तर देशव्यापी लकडाउन जारी राखेको छ । लकडाउन केही खुकुलो पार्ने विषयमा विभिन्न समयमा छलफल चलेको भएतापनि कोरोना संक्रमित दिनानुदिन बढ्दै गइरहेको र कोरोनाको कारण शनिबार र आइतबार २ संक्रमितको ज्यान नै गएपछि लकडाउन थप्ने निष्कर्षमा सरकार पुगेको हो ।
सरकारले यसअघि भोलि जेठ ५ गते सम्मका लागि लकडाउनको घोषणा गरेको थियो । नेपालमा कोरोनाको दोस्रो संक्रमण देखिएसंगै सरकारले गत चैत ११ गतेबाट देशव्यापी लकडाउनलाई निरन्तरता दिरहेको छ ।
चैत यता यो सम्म सरकारले लकडाउनको मिति ६ पटक थप गरिसकेको छ । दोस्रो पटक थप गरि बैशाख ३ गतेसम्म, तेस्रो पटक थप गरि बैशाख १५ गतेसम्म, चौथो पटक थप गरि बैशाख २५ गतेसम्म, पाँचौ पटक थप गरी जेठ ५ गतेसम्म जारी लकडाउनलाई पुनः जेठ २० गतेसम्मका लागि थपिएको छ ।
भारतले पनि आगामी मे ३१ (जेठ १८) गतेसम्मका लागि लकडाउन लम्ब्याइसकेको छ । भारतले भने यसअघि नै कोरोना संक्रमणको जोखिमको आधारमा रातो, पँहेलो र हरियो क्षेत्रमा विभाजन गरेको छ । भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको छ । जसको प्रभाव नेपालमा पनि परिरहेको छ । नेपालमा धरैजसो संक्रमण भारतबाट आएकाहरुबाट सरेको छ ।