५ जेठ, काठमाडौं । कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएकोे कोभिड–१९ परीक्षणमा १३ दिने नवजात शिशुसहित, उनको श्रीमान र परिवारका अन्य पाँच जना सदस्यहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको धुलिखेल अस्पताल स्रोतले जनाएको छ ।
गत बैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी २९ बर्षीय महिलालाई सिन्धुपाल्चोकस्थित घर लगिएको थियो । घरमा आराम गरिरहँदा स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
थप उपचारका लागि धुलिखेल ल्याइएपनि धुलिखेल अस्पतालले काठमाडौं लैजान सुझाव दियो । काठमाडौं लैजाने तयारीमा घर पुगेर पुनःधुलिखेल तर्फ आउँदा बाटैमा मृत्यु भएको थियो ।
उनको मृत्यु पश्चात परिवारका सदस्यहरुको कोरोना पक्षिणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो । उनलाई लगिएको प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेल अस्पताल, मृतकको घर र माइती गाउँ सिल गरिएको छ ।