९ जेठ, काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्म कोरोना संक्रमितको संख्या ५०७ जना पुगेको छ । शुक्रबार सम्म ४० जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
डा.देवकोटाका अनुुसार शुक्रबार दिउँसो मात्र २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान मात्र एकैपटक ३० जना नयाँ कोरोना संक्रमितको विवरण सार्वजनिक गरेको थियो ।
थपिएका नयाँ संक्रमितहरुमा कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ बर्षीय पुरुषहरु छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षण अनुसार उनीहरुमा कोरोना संक्रमण देखिएको हो । उनीहरु त्यहीँको सरस्वती मा.वि. क्वारेन्टाइनमा बसेका थिए ।
त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षण अनुसार बाँके जिल्लाका १४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरु १८ देखी ६१ बर्ष उमेरका पुरुषहरु रहेका छन् । जसमध्ये राप्ती सोनारीका १८ बर्षीय एक युवक र १३ जना बाँके नरैनापुरका रहेका छन् ।
पर्शुराम–१० डलेल्धुराका २८ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पोजिटिभ देखिएको छ । उनको डडेल्धुरा अस्पतालबाट स्वाब परीक्षणका लागि पठाइएको थियो । डडेल्धुरामा पहिलो पटक संक्रमित भेटिएको हो ।
त्यस्तै बैतडी जिल्ला शिवनाथ–०१ का २२ बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको बैतडी अस्पतालबाट स्वाब परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको प्रयोगशाला पठाइएको थियो । बैतडीमा पनि पहिलो पटक संक्रमित भेटिएको हो ।
यता रतुवामाई मोरङका ४१ बर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालभर कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । संक्रमितहरु ४३३ जना पुरुष र ७४ जना महिला छन् । ७० जना संक्रमित शुक्रबारसम्म निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । ३ जना संक्रमितको मृत्यु भएको छ ।