८ जेठ, काठमाडौं । नेपालमा बिहीबार बेलुका थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाँकेका २ जना र कपिलवस्तुका १ जना र दाङका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनीहरु ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका नयाँ संक्रमितहरुमा बाँके जिल्ला नैनापुर निवासी ३२ बर्षीय पुरुष, खजुरा ३ निवासी ४२ बर्षीय महिला र कपिलवस्तु जिल्ला सुद्दोधन गाउँपालिका निवासी १९ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै घोराही उपमहानगरपालिका–०३ का एक ३७ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण परीक्षण रिपोर्ट पोजिटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठाने जनाएको छ । संक्रमितलाई स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालय दाङको सम्पर्कमा राखिएको छ ।
संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले बताएका छन् ।
यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या ४५७ पुगेको छ भने ३ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये ४९ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।