८ जेठ, काठमाडौं । बिहीबार काठमाडौंको टेकु अस्पतालबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा २ जना भक्तपुरका र २ जना काठमाडौंका रहेका छन् ।
२ जना पुरुष र २ जना महिलाको पछिल्ला दुईवटा रिपोर्टमा कोरोना भाइरस नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
गत बैशाख ३१ गते भक्तपुरका १।१ पुरुष र महिला तथा काठमाडौंका १ महिलामा कोरोना संक्रमण देखिएपछि टेकु अस्पताल भर्ना भएका थिए । त्यस मध्येका १ जना संक्रमित पुरुष सशस्त्र प्रहरी रहेका छन् ।
त्यस्तै डिस्चार्ज हुने एक जना महिला आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्की महिला चन्द्रागिरीकी हुन् । उनीहरुमा ९ दिनमै कोरोना भाइरस निस्क्रिय भएपछि डिस्चार्ज गरिएको हो ।
यससंगै कोरोना संक्रमितमध्ये उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ । बाँकी सबै संक्रमित उपचाररत रहेका छन् भने ३ जना संक्रमितको भने ज्यान गएको छ ।