काठमाडौं । महामारीको रुप लिएको कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या आइतबार ४ लाख नाघेको छ । वल्ड कोरोना मिटर्सका अनुसार आइतबार बिहानसम्ममा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६७ पुगेको छ ।
यसैगरी संक्रमित हुनेको कूल संख्या ६९ लाख ६६ हजार नाघेको छ । तथ्याङ्क अनुसार संक्रमित मध्ये ३४ लाख ६ हजार जना निको भएर फर्किएका छन् तर पनि विश्वभरमा ३१ लाख५८ हजार जनामा संक्रमण छ । ती मध्ये ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ भने दुई प्रतिशतको अवस्था गम्भिर रहेको छ ।
विश्वमै सबैभन्दा धेरै अमेरिकामा १ लाख १२ हजार जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ३५ हजार ९ शयको मृत्यु भइसकेको छ । यसैंबीच लकडाउन खुकुलो बनाएकै कारणले ब्राजिल अहिले कोरोना भाइरसबाट संक्रमित हुने दोस्रो धेरै संख्या रहेको देश बन्न पुगेको छ ।
ब्राजिलले बढ्दो संख्याकै बीच लकडाउन खुकुलो बनाएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएच्ओ)ले त्यस्तो नगर्न दिएको सुझावपछि राष्ट्रपति जैर बोल्सोनारोले डब्लुएच्ओको व्यवहार सकारात्मक नभएको आरोप लगाउदै डब्लुएच्ओबाट बाहिरिने चेतावनी दिएका छन् । उनले डब्लुएच्ओरलाई राजनीतिक प्रभावमा परेर भूमिका खेल्न लागेको आरोप लगाएका छन् ।
यता सबैभन्दा धेरै संक्रमित र मानवीय क्षति भएको अमेरिकाले यसअघि नै डब्लुएच्ओबाट बाहिरिने घोषणा गर्दै डब्लुएच्ओलाई दिँदै आएको सहयोग समेत रोक्ने बताइसकेको छ । संक्रमणको तथ्यगत विवरण र रोकथामको सही उपाय पहिल्याउनु भन्दापनि चीनको पक्षपोषण गरेको भन्दै डब्लुएच्ओ आलोचित भएको छ ।