Nepal's Trusted Health Online Portal

विश्वभर १ करोड २७ लाख बढीमा कोरोना संक्रमण, ५ लाख ६५ हजार बढीको मृत्यु

संक्रमितमध्ये ७० लाख २३ हजार बढी निको भए

Get real time updates directly on you device, subscribe now.

२८ असार, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आइतबारसम्म विश्वभर ५ लाख ६५ हजार ७१९ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या १ करोड २७ लाख ४१ हजार २८७ पुगेको छ । संक्रमितमध्ये ७० लाख २३ हजार २६० जना निको भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा यो समाचार तयार पार्दा सम्म १ लाख ३४ हजार ८१५ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् । अमेरिकामा ३२ लाख ४७ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँ ९ लाख ९५ हजार बढी संक्रमित निको भएका छन् ।

अमेरिकाको न्यूयोर्कमा सबैभन्दा बढी ४ लाख भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण फैलिएको छ भने त्यहाँ ३२ हजार ३४३ जनाको ज्यान गएको तथ्याङ्क छ । पछिल्ला दिनहरुमा न्यूयोर्कमा कोरोनाबाट ज्यान गुमाउने र संक्रमण हुनेको दर न्यून रहेको छ । पछिल्लो एक हप्तामा १८६ जनाले ज्यान गुमाएका छन् ।

अमेरिका पछि सबैभन्दा बढी कोरोनाको संक्रमण भएको देशको सुचीमा ब्राजिलमा छ । ब्राजिलमा हालसम्म १८ लाख ३९ हजार बढीमा संक्रमण भएको छ । पछिल्लो एक हप्तामा मात्रै ३ लाख बढी संक्रमित थपिएका हुन् । ब्राजिलमा ७१ हजार ४६९ जनाको ज्यान गएको छ ।

ब्राजिलपछि कोरोना भाइरस सबैभन्दा बढी संक्रमण हुने देशहरुको तेस्रो स्थानमा छिमेकी मुलुक भारत रहेको छ । कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको भारतमा आइतबारसम्म ८ लाख ४९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क रहेको छ । भारतमा पछिल्लो एक हप्तामा २ लाख बढी संक्रमित थपिएका हुन् ।

भारतमा कोरोना संक्रमण तीब्र रुपमा वृद्धि हुँदाको सिधा प्रभाव नेपालसहितका छिमेकी मुलुकहरुमा परिरहेको छ । नेपालमा भेटिएका अधिकाँश कोरोना संक्रमित भारतमा काम गरेर फर्किएकाहरु हुन् । भारतमा आइतबारसम्म २२ हजार ६७३ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै ५ लाख ३४ हजार बढी संक्रमित भने निको भइसकेका छन् ।

भारतपछि रसियामा ७ लाख २६ हजार भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण भएको छ । रसियामा संक्रमितहरुको मृत्युदर भने धेरै संक्रमण भएका अन्य देशहरुको तुलनामा कम छ । रसियामा आइतबारसम्म ११ हजार ३१८ जना संक्रमितको ज्यान गएको छ ।

रसियापछि कोरोना भाइरस धेरै संक्रमण भएको देशहरको सूचीमा पेरु रहेको छ । पेरुमा ३ लाख २२ हजार बढीमा संक्रमण पाइएको छ भने ११ हजार ६८२ जनाको मृत्यु भएको छ । यद्यपी पेरुमा संक्रमितहरुमध्ये २ लाख १४ हजार बढी संक्रमित निको भइसकेका छन् ।

त्यस्तै धेरै संक्रमित हुने देशहरुमध्ये छैठौँ स्थानमा चिली रहेको छ । चिलीमा हालसम्म ३ लाख १२ हजार बढीमा संक्रमण पाइएको छ भने ६ हजार ८८१ जनाको मृत्यु भएको छ । चिलीमा २ लाख ८१ हजार बढी संक्रमितहरु निको भइसकेका छन् ।

चिलीपछि मेक्सिको कोरोनाबाट अतिप्रभावित देशको सुचीमा सातौँ स्थानमा आइपुगेको छ । अघिल्लो हप्तासम्म बेलायतभन्दा पछि रहेको मेक्सिकोमा यो हप्ता बेलायत भन्दा करिब ५ हजारले बढी २ लाख ९५ हजार २६८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँ हालसम्म ३४ हजार ७३० जनाले ज्यान गुमाएका छन् भने २ लाख २९ हजार बढी निको भएका छन् ।

मेक्सिको कै हाराहारी बेलायतमा २ लाख ९० हजार ५०४ जनामा कोरोनाको संक्रमण भएको छ । बेलायत सुरुवाती चरणमा नै धेरै प्रभावित बनेको देशहरुमध्ये एक हो । बेलायतमा संक्रमितमध्ये धेरै प्रतिशतले ज्यान गुमाएका छन् । त्यहाँ हालसम्म ४४ हजार ८८३ जनाको ज्यान गइसकेको छ । गएको एक हप्तमा भने बेलायतमा मृतकको संख्या केही घटेर ६०० मा सिमित भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार बेलायतमा न्यून सङ्ख्यामा १ हजार ३७८ जना मात्र निको भएका छन् । बितेको एक हप्तामा त्यहाँ ३ जना मात्रै निको भएका छन् । यद्यपी बेलायतमा कोरोना बिस्तारै नियन्त्रणउन्मुख रहेको छ ।

बेलायतपछि कोरोना संक्रमितको संख्या साउथ अफ्रिकामा ह्वात्तै बढेको छ । त्यहाँ हालसम्म २ लाख ६४ हजार बढी मानिसहरुमा कोरोना संक्रमण भएको छ । साउथ अफ्रिकामा हालसम्म ३ हजार ९७१ जनाको ज्यान गएको छ । त्यहाँ १ लाख २७ हजार बढी संक्रमित निको भएका छन् ।

गत हप्तासम्म एघारौँ स्थानमा रहेको इरानमा संक्रमित संख्या बढेर दशौँ स्थानमा आएको छ । त्यहाँ २ लाख ५७ हजार बढी संक्रमित भएका छन् । इरानमा १२ हजार ८२९ जना संक्रमितले ज्यान गुमाएका छन् ।
इरानपछिको सुचीमा स्पेन रहेको छ । सुरुवाती चरणमा नै प्रभावित बनेको स्पेनमा हालसम्म २ लाख ५३ हजार बढी मानिसहरुमा कोरोना संक्रमण भएको छ । स्पेनमा हालसम्म २८ हजार ४०३ जनाको ज्यान गएको छ । त्यहाँ १ लाख ५० हजार ३७६ संक्रमित निको भएका छन् भने कोरोना नियन्त्रणको चरणमा स्पेन छ ।

स्पेनपछि सार्क राष्ट्र पाकिस्तानमा २ लाख ४८ हजार बढी संक्रमित भएका छन् । पाकिस्तानमा ५ हजार १९७ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५६ हजार बढी संक्रमित निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण सुरुमै धेरै प्रभावित बनेको इटली धेरै संक्रमित भएका देशहरुको सूचीमा पाकिस्तान पछिको तेह्रौँ स्थानमा छ । इटलीमा २ लाख ४२ हजार ८२७ जनामा कोरोना संक्रमण भएको छ । इटली पनि हाल कोरोना नियन्त्रणको चरणमा छ । इटलीमा हालसम्म ३४ हजार ९४५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ १ लाख ९४ हजार ५७९ संक्रमित निको भइसकेका छन् । यसरी अहिले इटलीमा करिब १३ हजार मात्र एक्टिभ संक्रमित रहेका छन् ।

इटलीपछिपछि क्रमशः साउदी अरेबियामा २ लाख २९ हजार बढी, टर्कीमा २ लाख ११ हजार बढी, फ्रान्समा २ लाख ८ हजार १५, जर्मनीमा १ लाख ९९ हजार ८२७, सार्क राष्ट्र बङ्लादेशमा १ लाख ८३ हजार बढीमा कोरोना संक्रमण फैलिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १८८ देशहरुमा फैलिएको छ । चीनमा हालसम्म ८५ हजार १०९ जना मानिसहरुमा कोरोना भाइरसको संक्रमण भएको तथ्याङ्क छ । संक्रमित मध्ये ४ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ, त्यहाँ पछिल्लो एक हप्ता भित्र कसैको पनि ज्यान गएको छैन । चीनमा ७९ हजार ८९३ जना निको भइसकेका छन् । चीनमा अहिले कोरोना संक्रमण लगभग नियन्त्रणको स्थितिमा रहेको छ । त्यहाँ हाल ५७५ मात्रै एक्टिभ केश रहेको छ ।

सार्क राष्ट्रहरुमध्ये सबैभन्दा कम भुटानमा ८२ जनामा मात्र संक्रमण देखिएको छ । गएको एक हप्तामा ४ जना संक्रमित थपिएका हुन् । भुटानमा हालसम्म कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । त्यहाँ ७६ जना संक्रमित निको भइसकेका छन् भने ६ जना मात्र एक्टिभ संक्रमित रहेका छन् ।

नेपालमा कोरोना संक्रमितहरुको संख्या आइतबार अपरान्हसम्म १६ हजार ८०१ पुगेको छ । कोभिड–१९ को संक्रमणबाट नेपालमा ३८ जनाको ज्यान गइसकेको छ । नेपालमा संक्रमितमध्ये ८ हजार ५८९ जना निको भएका छन् । पछिल्लो हप्ता नेपालमा पनि नयाँ कोरोना संक्रमितको ग्राफ ओरालो लागेको देखिन्छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.