१५ भदौ, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) बाट सोमबार बिहानसम्म विश्वभर कम्तिमा २ करोड ५१ लाख ३३ हजार संक्रमित भएका छन् । त्यस्तै कम्तिमा ८ लाख ४५ हजार ७३ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये १ करोड ६५ लाख ४५ हजार भन्दा बढी निको भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ ।
कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी अमेरिकामा भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा यो समाचार तयार पार्दा सम्म करिब ६० लाख मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अमेरिकामा १ लाख ८३ हजार ४७ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् भने २१ लाख ५४ हजार संक्रमित निको भएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी कोरोनाको संक्रमण ब्राजिलमा भएको छ । ब्राजिलमा हालसम्म ३८ लाख ६२ हजार बढीमा संक्रमण भएको छ भने १ लाख २० हजार ८२८ जनाको ज्यान गएको छ । त्यहाँ ३२ लाख ३७ हजार संक्रमित निको भएका छन् ।
ब्राजिलपछि कोरोना भाइरस सबैभन्दा बढी संक्रमण हुने देशहरुको तेस्रो स्थानमा छिमेकी मुलुक भारत रहेको छ । कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको भारतमा सोमबार बिहानसम्म ३५ लाख ४२ हजार ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क रहेको छ ।
भारतमा सोमबार बिहानसम्म ६३ हजार ४९८ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै २७ लाख १४ हजार संक्रमित भने निको भइसकेका छन् ।
भारतमा कोरोना संक्रमण तीब्र रुपमा वृद्धि हुँदाको सिधा प्रभाव नेपालसहितका छिमेकी मुलुकहरुमा परिरहेको छ । नेपालमा भेटिएका अधिकाँश कोरोना संक्रमित भारतमा काम गरेर फर्किएकाहरु हुन् ।
भारतपछि कोरोना संक्रमणबाट अतिप्रभावित देशहरुको सुचीमा रसिया रहेको छ । रसियामा ९ लाख ८७ हजार भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण भएको छ । रसियामा संक्रमितहरुको मृत्युदर भने धेरै संक्रमण भएका अन्य देशहरुको तुलनामा थोरै छ । रसियामा सोमबार बिहानसम्म १७ हजार ४५ जना संक्रमितको ज्यान गएको छ । त्यस्तै त्यहाँ ८ लाख ५ हजार संक्रमितहरु निको भएका छन् ।
त्यस्तै कोरोना अतिप्रभावित देशहरुको सुचीको पाँचौँ स्थानमा पेरु रहेको छ । पेरुमा हालसम्म ६ लाख ३९ हजार बढीमा संक्रमण पाइएको छ भने २८ हजार ६०७ जनाको मृत्यु भएको छ । पेरुमा संक्रमितहरुमध्ये ४ लाख ४६ हजार बढी निको भइसकेका छन् ।
पेरुपछि सबैभन्दा बढी संक्रमण साउथ अफ्रिकामा फैलिएको छ । साउथ अफ्रिकामा हालसम्म ६ लाख २५ हजार बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । त्यहाँ १४ हजार २८ जनाको मृत्यु भएको छ भने ५ लाख ३८ हजार बढी निको भएका छन् ।
साउथ अफ्रिकापछि कोलोम्बियामा कोरोना संक्रमण धेरै भएको छ । त्यहाँ ५ लाख ३९९ हजार बढीमा संक्रमण भएको छ भने ४ लाख ५० हजार बढी निको भएका छन् । कोलोम्बियामा १९ हजार ३६३ जना संक्रमितको ज्यान गएको छ ।
कोलोम्बियापछि कोरोना अतिप्रभावित देशहरुको सुचीमा क्रमशः मेक्सिको, स्पेन, चिली, अर्जेन्टिना, इरान, बेलायत, फ्रान्स, साउदी अरेबिया लगायतका मुलुकहरु रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १८८ देशहरुमा फैलिएको छ । चीनमा हालसम्म ८९ हजार ८९४ जना मानिसहरुमा कोरोना भाइरसको संक्रमण भएको तथ्याङ्क छ । संक्रमित मध्ये ४ हजार ७ सय २२ जनाको मृत्यु भएको छ भने ८४ हजार ५४६ जना निको भइसकेका छन् । कोरोना संक्रमण नियन्त्रित स्थितिमा रहेको चीनमा हाल ६२६ जना मात्रै एक्टिभ केश रहेको छ ।
त्यस्तै सार्क राष्ट्रहरुमध्ये सबैभन्दा कम भुटानमा १९५ जनामा मात्र संक्रमण देखिएको छ । भुटानमा हालसम्म कोरोनाका कारण कसैको ज्यान गएको तथ्याङ्क छैन । त्यहाँ १३५ जना संक्रमित निको भइसकेका छन् ।
नेपालमा कोरोना संक्रमितहरुको संख्या बढेर आइतबारसम्म ३८ हजार ५६१ पुगेको छ । कोभिड–१९ को संक्रमणबाट नेपालमा २२१ जनाको ज्यान गइसकेको छ । नेपालमा संक्रमितमध्ये २० हजार ८२२ जना निको भएका छन् ।