१४ भदौ, काठमाडौँ । सरकारले १ जना कोरोना संक्रमितले ३ हजार जना सम्मलाई भाइरस सार्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सो कुरा बताएका हुन् ।
एक जनाले धेरै जनालाई कोरोना सार्न सक्ने भएको भन्दै सरकारले तोकेको सबै मापदण्ड अवलम्वन गर्न गौतमले आग्रह गरे ।
अस्पताल वा क्वारेन्टाइनमा बस्दा घरकै जस्तो खानपान र बस्ने व्यवस्था नहुन सक्ने भएपनि अहिलेको परिश्थिति वाध्यात्मक भएको भन्दै गौतमले कोरोना संक्रमण फैलिन नदिने एकमात्र उपाय भएकोले सरकारले यो कदम चालेको बताए ।
गौतमले नेपाल सरकार सिमित स्रोत र साधन लिएर यो अफ्ठ्यारो परिस्थिति सँग जुधिरहेको भन्दै सरकारले स्रोत–साधनले भ्याएसम्म राम्रो सेवा प्रदान गर्न खोज्दा खोज्दै पनि कतिपय अवस्थामा सर्वसाधारणको अपेक्षा पूरा नभएको हुन सक्ने तर यो अफ्ठ्यारो परिश्थितिमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।
नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढीरहँदा सरकारले संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा जोड दिँदै आएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लामा आँशिक तथा पूर्ण निषेधाज्ञा गर्दै आइरहेको छ ।
निषेधाज्ञाकै बीचमा पनि उपत्यका लगायत विभिन्न ठाउँमा कोरोना फैलिने क्रम तीब्र बनेपछि सरकारले आम मानिसहरुलाई विशेष सतर्कता अपनाउन जोड दिएको हो ।