३० बैशाख, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मंगलबार बिहानसम्म विश्वभर २ लाख ८७ हजार ३३२ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या ४२ लाख ५५ हजार ९४० पुगेको छ । संक्रमितमध्ये १५ लाख २७ हजार ४ सय ८७ जना निको भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा यो समाचार तयार पार्दा सम्म ८० हजार ३९७ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् । अमेरिकामा १३ लाख ४७ हजार बढीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अमेरिकाको न्यूयोर्कमा मात्रै ३ लाख ३७ हजार बढी मानिसहरुमा कोरोना संक्रमण फैलिएको छ भने त्यहाँ २६ हजार ७२१ जनाको ज्यान गएको तथ्याङ्क छ ।
अमेरिका पछि सबैभन्दा बढी संक्रमण स्पेनमा फैलिएको छ । स्पेनमा हालसम्म २ लाख २७ हजार बढीमा संक्रमण पाइएको छ भने २६ हजार ७४४ जनाको मृत्यु भएको छ । स्पेनमा पछिल्लो हप्ता कोरोनाको संक्रमण अघिल्ला दिनहरुको तुलनामा थोरै नियन्त्रण भएको छ ।
स्पेन पछि कोरोना भाइरस संक्रमितहरु ह्वात्तै बढेर सबैभन्दा बढी संक्रमण हुने देशहरुको तेस्रो स्थानमा बेलायत आइपुगेको छ । मृत्युदरमा बेलायतले स्पेनलाई पनि पछि पारेको छ । यसअघि इटली, फ्रान्स र जर्मनी भन्दा कम संक्रमित रहेको बेलायतमा मंगलबार बिहान सम्म स्पेनकै हाराहारी २ लाख २४ हजार बढीमा संक्रमण फैलिएको छ । संक्रमणबाट बेलायतमा ३२ हजार १४१ जनाको मृत्यु भइसकेको छ । बेलायतमा संक्रमितहरुको मृत्युदर पनि बढीरहेको छ ।
त्यस्तै एकहप्ता अघि सम्म इटली, फ्रान्स र जर्मनी भन्दा कम संक्रमित रहेको रसियामा तीब्र गतिमा संक्रमण फैलिएको छ । रसियामा संक्रमण ह्वात्तै फैलिएर २ लाख २१ हजार बढी मानिसहरु संक्रमित भएका छन् । अघिल्लो सोमबारसम्म रसियामा १ लाख ३४ हजारमा मात्र संक्रमण भएको थियो । रसियामा संक्रमणका कारण मृत्यु हुनेको संख्या भने २ हजार ९ मात्र रहेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण सुरुमै धेरै प्रभावित बनेको इटलीमा २ लाख १९ हजार बढीमा संक्रमण भएको छ तर ज्यान गुमाउनेको संख्या भने स्पेनमा भन्दा पनि बढी छ । इटलीमा हालसम्म ३० हजार ७३९ जनाले ज्यान गुमाइसकेका छन् ।
फ्रान्समा अहिले सम्म १ लाख ७७ हजार बढीमा संक्रमण पाइएको छ भने २६ हजार ६४६ जनाको मृत्यु भएको छ । फ्रान्स पछि जर्मनीमा १ लाख ७२ हजार बढी मानिसहरुमा कोरोना संक्रमण पाइएको छ । जर्मनीमा ७ हजार ६६१ जना संक्रमितको ज्यान गएको छ ।
जर्मनीपछि सबैभन्दा बढी संक्रमित हुने देशको सुचीमा ब्राजिल रहेको छ । ब्राजिलमा १ लाख ६९ हजार बढीमा संक्रमण भएको छ भने ११ हजार ६२५ जनाको ज्यान गएको छ । ब्राजिलपछि टर्कीमा १ लाख ३९ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन् त्यहाँ संक्रमणका कारण ३ हजार ८४१ जनाको ज्यान गएको छ ।
टर्कीपछि इरानमा १ लाख ९ हजार बढी संक्रमित भएका छन् । इरानमा ६ हजार ६८५ जना संक्रमितले ज्यान गुमाएका छन् ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका अधिकांश देशहरुमा फैलिएको छ । चीनमा हालसम्म ८४ हजार ११ जना मानिसहरुमा कोरोना भाइरसको संक्रमण भएको तथ्याङ्क छ । संक्रमित मध्ये ४ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ । चीनमा अहिले कोरोना संक्रमण लगभग नियन्त्रणको स्थितिमा रहेको छ ।
सार्क राष्ट्रहरुमध्ये सबैभन्दा बढी संक्रमण फैलिएको छिमेकी मुलुक भारतमा हालसम्म ७० हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क रहेको छ । भारतमा २ हजार २९४ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् ।
सार्क राष्ट्रहरुमध्ये सबैभन्दा कम भुटानमा ९ जनामा मात्र संक्रमण देखिएको छ । अघिल्लो हप्ता भुटानमा ७ जनामा संक्रमण थियो ।
नेपालमा कोरोना संक्रमितहरुको संख्या बढेर १३४ पुगेको छ । सोमबार मात्र एकैदिन २४ जना संक्रमित भेटिएको थियो । नेपालमा संक्रमितमध्ये ३३ जना निको भएका छन् । नेपालमा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि ज्यान गएको पुष्टि भएको छैन ।