काठमाडौं । नेपालमा शुक्रबार एकैदिन १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएसंगै एकैदिन १४ जनाको संख्यामा कोरोना भाइरसको संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससंगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) को कुल संक्रमित संख्या ३० पुगेको छ । एक जना भने उपचार पछि निको भइसकेका छन् ।
उदयपुरको भुल्केमा अवस्थित एक मस्जिदमा रहेका १६ जना मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु भारतीय नागरिक रहेको र उनीहरु मोरङ, सुनसरी, सप्तरी हुँदै उदयपुर पुगेको बताइएको छ ।
मस्जिदमा रहेका १६ जनाको स्वाब परिक्षणका लागि बुधबार कोशी अञ्चल अस्पताल पठाइएको थियो । अस्पतालको प्रयोगशालामा कोरोना पोजिटिभ देखिएपछि थप परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । १६ मध्ये १२ जना पुरुषहरुमा कोरोना पोजिटिभ देखिएको छ ।
यस्तै शुक्रबार नै चितवन राप्ती नगरपालिकाका एकै परिवारका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ६३ बर्षीय महिला र २७ बर्षका पुरुष हुन् । उनिहरु बेलायतबाट नेपाल आएका हुन् । उनीहरुको पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो ।