Nepal's Trusted Health Online Portal

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, २९ लाख बढी संक्रमित

अमेरिकामा मात्रै ५३ हजार बढी संक्रमितले ज्यान गुमाइसकेका छन् ।

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर २ लाख ३ हजार ७ सय ९८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितको संख्या २९ लाख ३८ हजार नाघेको छ । संक्रमित ८ लाख ४१ हजार ५ सय १५ जना भने निको भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या अहिले पनि अमेरिकामा सबैभन्दा बढी रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा यो समाचार तयार पार्दा सम्म ५३ हजार बढी संक्रमितले ज्यान गुमाइसकेका छन् । त्यस्तै अमेरिकामा ९ लाख ३९ हजार बढीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अमेरिकाको न्यूयोर्कमा मात्रै २ लाख ८२ हजार बढी मानिसहरुमा कोरोना संक्रमण फैलिएको छ भने २२ हजार ९ जनाको ज्यान गएको छ ।

अमेरिका पछि सबैभन्दा बढी संक्रमण स्पेनमा फैलिएको छ । स्पेनमा हालसम्म २ लाख २३ हजार बढीमा संक्रमण पाइएको छ भने २२ हजार ९ सय २ जनाको मृत्यु भएको छ । स्पेन पछि इटलीमा १ लाख ९५ हजार बढी संक्रमित भएका छन् तर ज्यान गुमाउनेको संख्या भने स्पेनमा भन्दा बढी छ । इटलीमा हालसम्म २६ हजार ३ सय ८४ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरस सबैभन्दा बढी संक्रमण हुने देशहरुको चौथो स्थानमा फ्रान्स रहेको छ । फ्रान्समा अहिले सम्म १ लाख ६१ हजार बढीमा संक्रमण पाइएको छ भने २२ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ । त्यस्तै फ्रान्स पछि जर्मनीमा १ लाख ५६ हजार बढी मानिसहरुमा कोरोना संक्रमण पाइएको छ । जर्मनीमा ५ हजार ८ सय ७७ जना संक्रमितको ज्यान गएको छ ।

छैठौं स्थानमा रहेको बेलायतमा १ लाख ४९ हजार बढीमा संक्रमण पुष्टि भएको छ । बेलायतमा संक्रमितमध्ये २० हजार ३ सय ८१ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमित जर्मनीमा भन्दा कम भएपनि बेलायतमा बढी मानिसहरुले ज्यान गुमाएका हुन् ।

त्यस्तै टर्कीमा १ लाख ७ हजार भन्दा बढी मानिसहरु संक्रमित छन् त्यहाँ २ हजार ७ सय ६ जनाको ज्यान गएको छ । टर्की पछि इरानमा ९० हजार बढी संक्रमित भएका छन् । इरानमा ५ हजार ७ सय १० जना संक्रमितले ज्यान गुमाएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १८५ देशमा फैलिइसकेको छ । चीनमा हालसम्म ८३ हजार बढी मानिसहरुमा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमित मध्ये ४ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ । चीनमा अहिले कोरोना संक्रमण लगभग नियन्त्रणको स्थितिमा रहेको छ ।

सार्क राष्ट्रहरुमध्ये सबैभन्दा बढी संक्रमण फैलिएको छिमेकी मुलुक भारतमा हालसम्म २६ हजार ४ सय ९६ जनामा कोरोना संक्रमण पु्ष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क रहेको छ । भारतमा ८ सय २५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । त्यस्तै सार्क राष्ट्रहरुमध्ये सबैभन्दा कम भुटानमा ७ जनामा मात्र संक्रमण देखिएको छ ।

नेपालमा आइतबार सम्म ५२ जनामा कोरोना संक्रमण भेटिएको छ जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि ज्यान गएको पुष्टि भएको छैन ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.