काठमाडौं । नेपालमा बिहीबार पनि थप २ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । उदयपुरमा ५५ बर्षीय एक महिला र जनकपुरमा १४ बर्षीय एक किशोरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
उनीहरु दुवैको पिसिआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको पनि प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् । यस अघि हिँजो बुधबार ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।
बिहीबार नै थप २ जना भने उपचार पछि निको भएर घर फर्किएका छन् । पाटन अस्पतालमा उपचार गराइरहेका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका ५८ बर्षीय पुरुष र ८१ बर्षीय महिला आज डिस्चार्ज भएका हुन् ।
आज २ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । संक्रमितमध्ये ९ जना भने निको भइसकेका छन् । बाँकी संक्रमितहरु उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।