Nepal's Trusted Health Online Portal

१ लाख ८४ हजार बढी कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर १ लाख ८४ हजार २ सय ४८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितको संख्या २६ लाख ३८ हजार नाघेको छ । संक्रमित ७ लाख २२ हजार भन्दा बढी भने निको भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा यो समाचार तयार पार्दा सम्म ४५ हजार बढी संक्रमितले ज्यान गुमाइसकेका छन् । त्यस्तै अमेरिकामा ८ लाख ४२ हजार बढीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अमेरिकाको न्यूयोर्कमा मात्रै २ लाख ६३ हजार बढी मानिसहरुमा कोरोना संक्रमण फैलिएको छ भने १९ हजार ४ सय ३९ जनाको ज्यान गएको छ ।

अमेरिका पछि सबैभन्दा बढी संक्रमण स्पेनमा फैलिएको छ । स्पेनमा हालसम्म २ लाख ८ हजार बढीमा संक्रमण पाइएको छ भने २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ । स्पेन पछि इटलीमा १ लाख ८७ हजार बढी संक्रमित भएका छन् तर ज्यान गुमाउनेको संख्या भने स्पेनमा भन्दा बढी छ । इटलीमा हालसम्म २५ हजार ८५ जनाले ज्यान गुमाइसकेका छन् ।

फ्रान्समा अहिले सम्म १ लाख ५७ हजार बढीमा संक्रमण पाइएको छ भने २१ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । त्यस्तै जर्मनीमा १ लाख ५० हजार बढी मानिसहरुमा कोरोना संक्रमण पाइएको छ त्यहाँ ५ हजार ३ सय १५ जना संक्रमितको ज्यान गएको छ ।

बेलायतमा १ लाख ३४ हजार बढीमा संक्रमण पुष्टि भएको छ । बेलायतमा संक्रमितमध्ये १८ हजार १ सय ५१ जनाले ज्यान गुमाएका छन् । टर्कीमा ९८ हजार भन्दा बढी मानिसहरु संक्रमित छन् त्यहाँ २ हजार ३ सय ७६ जनाको ज्यान गएको छ । टर्की पछि इरानमा झन्डै ८६ हजार संक्रमित भएका छन् । इरानमा ५ हजार ३ सय ९१ जना संक्रमितले ज्यान गुमाएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १८५ देशमा फैलिइसकेको छ । चीनमा भने कोरोना संक्रमण लगभग नियन्त्रणको स्थितिमा रहेको भनिएको छ । यद्यपी चीनको वुहानमा मृतकको संख्या बढेको तथ्याङ्क सार्वजनिक भएको छ । चीनमा हालसम्म ८३ हजार ८ सय ७६ जनामा संक्रमण भएको छ भने ४ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा हालसम्म २१ हजार ४ सय ५० जनामा कोरोना संक्रमण पु्ष्टि भएको छ भने ६ सय ८१ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा ४५ जनामा कोरोना संक्रमण भेटिएको छ जसमध्ये ७ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि ज्यान गएको छैन ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.