काठमाडौं । नेपालमा बुधबार थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमित अपडेटमार्फत नयाँ संक्रमितबारे जानकारी दिएको हो । नयाँ संक्रमित उदयपुरको भुल्के मस्जिदकै १६ मध्येका हुन् ।
यस अघि उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका १६ जनामध्ये पहिलो पटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । क्वारेन्टाइनमा राखिएका बाँकी ४ मध्ये गत शनिबार १ जनामा कोरोना संक्रमण देखिएको थियो भने ३ जना क्वारेन्टाइन मै थिए । क्वारेन्टाइनमा रहेका उनीहरु तिनै जनाको आज कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै उदयपुर मस्जिदका सोह्रै जनामा कोरोना संक्रमण प्रमाणित भएको छ । आज थपिएका संक्रमितहरु क्रमशः २४, ६० र ७२ बर्षीय पुरुषहरु रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित तिनै जनाको धरानस्थित वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पिसिआर परीक्षण भएको थियो । उनीहरु सबैलाई मोरङको टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो । अहिले संक्रमित तिनै जनालाई अस्पताल ल्याउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । संक्रमितमध्ये ७ जना भने निको भइसकेका छन् । बाँकी संक्रमितहरु उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार swasthyapost@gmail.com मा पठाउनुहोस्)