Nepal's Trusted Health Online Portal

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७५ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२१ बैशाख, काठमाडौं । नेपालगञ्जमा आइतबार साँझ थप ६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण मार्फत जानकारी दिएको छ ।

थपिएका ६ जनामा नेपालगञ्ज ८ निवासी १६, २१, ३४ बर्षका पुरुषहरु र ४०, ५५ र ६० बर्षका महिलाहरु छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणबाट उक्त ६ जनामा कोरोना संक्रमण देखिएको हो । यस सँगै नेपालगञ्जमा आइतबार एकै दिन १५ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

यसअघि नेपालगञ्जमा आज दिउँसो ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । १९ गते नेपालगञ्जका एक पुरुषमा कोरोना संक्रमण भेटिएकोमा उनको सम्पर्कमा आएका ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिएको थियो । तिनै ९० जना मध्येका ९ जनाको रिपोर्ट दिउँसो पोजेटिभ आएको हो भने साँझसम्म ६ जना थपिएका हुन् ।

नेपालगञ्जमा भेटिएका सबै संक्रमितहरुको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिने डा.देवकोटाले बताएका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आज साँझ सम्म १५ जना संक्रमित देखिएसंगै प्रदेश नं ५ मा कोरोना संक्रमित संख्या १६ पुगेको छ ।

यससँगै नेपालभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । संक्रमितमध्ये १६ जना भने निको भइसकेका छन् । नेपालगञ्जका १५ र वीरगञ्जका १ गरी आइतबार १६ जना संक्रमितहरु थपिएसंगै नेपालमा अब जम्मा ५९ जना एक्टिभ संक्रमित रहेका छन् । संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.