Nepal's Trusted Health Online Portal

नेपालमा आइतबार एकै दिन १० जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ६९ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२१ बैशाख, काठमाडौं । नेपालमा आइतबार एकैपटकमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वीरगञ्जमा १ र नेपालगञ्जमा एकैपटक ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिला तथा विरगञ्ज छपकैयाका एक ३६ बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । नेपालगञ्जका ९ जना संक्रमितहरु ७ देखी ५८ बर्ष उमेर समुहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।

नेपालगञ्जमा आज देखिएका ९ जना संक्रमितहरु १९ बैशाखमा संक्रमण पुष्टि भएका ६० बर्षीय पुरुषको सम्पर्कमा आएका व्यक्तिहरु रहेको प्रवक्ता डा.देवकोटाले बताएका छन् । यसअघि गत १९ गते नेपालगञ्ज, बाँकेका एक पुरुषमा कोरोना संक्रमण प्रमाणित भएको थियो । उनको सम्पर्कमा आएका ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिएको थियो । जसमा परिवारका ७ जना सदस्य पनि छन् । तिनै ९० जना मध्येका ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

नेपालगञ्जमा भेटिएका सबै संक्रमितहरुको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिने डा.देवकोटाले बताएका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आज ९ जना संक्रमित देखिएसंगै प्रदेश नं ५ मा कोरोना संक्रमित संख्या १० पुगेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । संक्रमितमध्ये १६ जना भने निको भइसकेका छन् । आइतबार १० जना संक्रमितहरु थपिएसंगै नेपालमा अब जम्मा ५३ जना एक्टिभ संक्रमित रहेका छन् । संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.