Nepal's Trusted Health Online Portal

विश्वभर २ लाख ४८ हजार बढी कोरोना संक्रमितहरुको मृत्यु, ३५ लाख ६७ हजार बढी संक्रमित

संक्रमितमध्ये ११ लाख ५७ हजार ९ जना भने निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

२२ बैशाख, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सोमबार मध्यान्नसम्म विश्वभर २ लाख ४८ हजार ३१२ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख ६७ हजार नाघेको छ । संक्रमितमध्ये ११ लाख ५७ हजार ९ जना भने निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा यो समाचार तयार पार्दा सम्म ६७ हजार ६८२ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् । अमेरिकामा ११ लाख ५८ हजार बढीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अमेरिकाको न्यूयोर्कमा मात्रै ३ लाख १६ हजार बढी मानिसहरुमा कोरोना संक्रमण फैलिएको छ भने त्यहाँ २४ हजार ७०८ जनाको ज्यान गएको छ ।

अमेरिका पछि सबैभन्दा बढी संक्रमण स्पेनमा फैलिएको छ । स्पेनमा हालसम्म २ लाख १७ हजार बढीमा संक्रमण पाइएको छ भने २५ हजार २६४ जनाको मृत्यु भएको छ । स्पेन पछि इटलीमा २ लाख १० हजार बढी संक्रमित भएका छन् तर ज्यान गुमाउनेको संख्या भने स्पेनमा भन्दा बढी छ । इटलीमा हालसम्म २८ हजार ८८४ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरस संक्रमितहरु ह्वात्तै बढेर सबैभन्दा बढी संक्रमण हुने देशहरुको चौथो स्थानमा बेलायत आइपुगेको छ । यसअघि फ्रान्स र जर्मनी भन्दा कम संक्रमित रहेको बेलायतमा सोमबार बिहान सम्म १ लाख ८७ हजार बढीमा संक्रमण फैलिएको छ । संक्रमणबाट बेलायतमा २८ हजार ५२० जनाको मृत्यु भइसकेको छ ।

फ्रान्समा अहिले सम्म १ लाख ६८ हजार बढीमा संक्रमण पाइएको छ भने २४ हजार ९०० जनाको मृत्यु भएको छ । त्यस्तै फ्रान्स पछि जर्मनीमा १ लाख ६५ हजार बढी मानिसहरुमा कोरोना संक्रमण पाइएको छ । जर्मनीमा ६ हजार ८ सय ६६ जना संक्रमितको ज्यान गएको छ । त्यस्तै रसियामा १ लाख ३४ हजार बढीमा कोरोना संक्रमण भएको छ भने १ हजार २८० जना संक्रमितहरुको ज्यान गएको छ ।

टर्कीमा १ लाख २६ हजार भन्दा बढी मानिसहरु संक्रमित छन् त्यहाँ रसियाको भन्दा बढी ३ हजार ३९७ जनाको ज्यान गएको छ । टर्कीपछि ब्राजिलमा १ लाख १ हजार बढीमा संक्रमण भएको छ भने ७ हजार ५१ जनाको ज्यान गएको छ । इरानमा ९७ हजार बढी संक्रमित भएका छन् । इरानमा ६ हजार २०३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका अधिकांश देशहरुमा फैलिइसकेको छ । चीनमा हालसम्म ८३ हजार ९६४ बढी मानिसहरुमा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमित मध्ये ४ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ । चीनमा अहिले कोरोना संक्रमण लगभग नियन्त्रणको स्थितिमा रहेको छ ।

सार्क राष्ट्रहरुमध्ये सबैभन्दा बढी संक्रमण फैलिएको छिमेकी मुलुक भारतमा हालसम्म ४२ हजार ५३३ जनामा कोरोना संक्रमण पुिष्ट भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क रहेको छ । भारतमा १ हजार ३९१ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै सार्क राष्ट्रहरुमध्ये सबैभन्दा कम भुटानमा ७ जनामा मात्र संक्रमण देखिएको छ ।

नेपालमा आइतबार सम्म ७५ जनामा कोरोना संक्रमण भेटिएको छ जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि ज्यान गएको पुष्टि भएको छैन ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.