Nepal's Trusted Health Online Portal

नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष प्रा.विष्णु राईको निधन

Get real time updates directly on you device, subscribe now.

२२ बैशाख, काठमाडौं । नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष प्रा.विष्णु राईको निधन भएको छ । राईको सोमबार बिहान ७ः३० बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनलाई गत मंगलबार बिहान घरमा अचानक लडेर हेड इन्जुरी भएपछि वीर अस्पताल लगिएको थियो । त्यतिबेला अवस्था सामान्य नै भएपनि आइसियूमा राखेर उपचार गरिएकी राईको मस्तिष्कमा रक्तश्राव भएकोले भेन्टिलेटरमा राखिएको थियो ।

३ महिना अघिदेखी मिर्गौलाको समस्यासँग जुधिरहेकी राईले नियमित डायलासिस गराउँदै आएको ललितपुर नर्सिङ क्याम्पस प्रमुख सरला केसीले जानकारी दिएकी छन् । राई ललितपुरको बागडोलमा रहेको घरमा नातिसंग बस्दै आईकी थिइन् । उनको १ छोरी छिन् भने ४ बर्ष अघि श्रीमानको मृत्यु भएको थियो ।

उनी नेपाल नर्सिङ संघको तेह्रौँ कार्यकालमा अध्यक्ष बनेकी थिइन् । हालको कार्यकालमा पनि विशेष सल्लाहकार थिइन् । राइले उनको कार्यकालमा नर्सको पक्षमा गरेका कामबाट प्रशंसा बटुलेकी थिइन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर नर्सिङ क्याम्पस (तात्कालिन शान्तभवन हस्पिटल स्कुल अफ नर्सिङ) को पहिलो ब्याच, २०१६ को विद्यार्थी राईले पछि सोही क्याम्पसमा पहिलो क्याम्पस प्रमुख भएर लामो समय काम गरेकी थिइन् ।

करिब ६ दशक नेपालको नर्सिङ सेवामा समर्पित राई सरकारी सेवा निवृत भएपछि पछिल्लो समय ललितपुर ग्वार्कोमा अवस्थित आफ्नै लगानीको हिमालय नर्सिङ क्याम्पसमा व्यवस्थापक तथा कन्सल्टेन्टको रुपमा कार्यरत थिइन् । उनले ४ महिना अघि सम्म काभ्रेको बनेपामा रहेको शीर मेमोरियल नर्सिङ कलेजको समेत प्रमुख रहेर काम गरेकी थिइन् ।

राईको नर्सिङ पेशामा अमुल्य योगदान रहेको नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले बताएकी छिन् । ‘नर्सहरुलाई समस्या पर्दा अग्रसर भइहाल्ने उहाँको व्यक्तित्व थियो’ राइले भनिन् ‘आफ्नो गुरु र सबै नर्सहरुको आदरणीय व्यक्तित्वकोे निधनले नर्सिङ क्षेत्रमा अपुरणीय क्षति भएको छ’ ।

लामो समय सँगै काम गरेको र राईको विद्यार्थी समेत रहेकी हालकी ललितपुर नर्सिङ क्याम्पस प्रमुख सरला केसीले राई सुअनुशासित र अरुलाई अनुशासनमा राख्ने कुशल प्रशासक रहेको बताएकी छन् । राईलाई नजिकबाट चिन्ने केसीले भनिन् ‘गुरुभन्दा आदरभाव प्रकट हुने व्यक्तित्व र नर्सहरुको व्यावहारिक, सामाजिक, आर्थिक समस्यामा चासो राख्ने सहयोगी, सबैको आदरणीय र प्रेरक व्यक्तित्वको निधनले गहिरो दुख लागेको छ’ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.