Nepal's Trusted Health Online Portal

मानिसमाथि डिसइन्फेक्सन स्प्रे नछर्किन स्वास्थ्य मन्त्रालयको आग्रह

Get real time updates directly on you device, subscribe now.

२२ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जथाभावी तरिकाले निसंक्रमणका किटनाशक झोल (डिसइन्फेक्सन स्प्रे) नछर्किन आग्रह गरेको छ ।

किटनाशक झोलहरुको स्प्रे गरेका खबरहरु सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आएको भन्दै त्यस्तो स्प्रे जथाभावी तवरले मानिसमाथि सिधै नछर्किन आग्रह गरेको हो ।

यस्ता किटनाशक झोलहरु पानीमा मिसाइएको सोडियम हाइपोक्लोराइट र घरेलू ब्लिच क्लोरिनको झोल भएको र यस्ता डिसइन्फेक्टहरु सिधै मानिसमा छर्कनु हानिकारक रहेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताएका छन् ।

‘शरीरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल, कुनै ब्लिच, किटनाशक झोल, क्लोरिनजस्ता डिसइन्फेक्टहरु शरीरमा लगाउँदा वा छर्कँदा कोरोना भाइरस नाश हुँदैन’ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.देवकोटाले भने ‘कोरोना भाइरसको वृत्ति मानव शरीरमा रहेको कोषहरुमा हुने र बाहिरी किटनाशक झोल प्रयोगबाट यो भाइरस मर्दैन’ ।

जथाभावी ढगंले मानिसमाथि यसरी किटनाशक झोलहरु छर्किंदा मानिसको आँखा, मुख, नाकमा हानी पुर्‍याउँछ । सही तरिकाले डिसइन्फेक्टहरुको प्रयोग नगर्दा श्वासप्रश्वास सम्बन्धी जटिल समस्याहरु समेत उत्पन्न हुन सक्ने विभिन्न अध्ययनहरुले देखाएको भन्दै मन्त्रालयले जथाभावी प्रयोग नगर्न आग्रह गरेको हो ।

तोकिएको मापदण्डहरु पुरा गरेर सही तरिकाले सही मात्रामा डिसइन्फेक्टहरु प्रयोग गरिएको खण्डमा त्यस्ता स्प्रेहरुले भुईँ र सतहहरुलाई भने निसंक्रमण गर्न मद्धत गर्छन् । साथै विभिन्न सवारीसाधनहरु हामीले छुने गरेका विभिन्न वस्तुहरु, सतहहरु, प्याकिङ गरिएका सामग्रीहरु आदिमा यस्ता किसिमको स्प्रे गरेर ती वस्तुहरु तथा सतहलाई निसंक्रमण गर्न भने सकिने मन्त्रालयले बताएको छ ।

कोभिड–१९ बाट जोगिने सबैभन्दा सरल र महत्वपूर्ण प्रभावकारी उपाय भनेको साबुनपानीले २० सेकेन्ड सम्म मिचीमिची हात धुनु नै रहेको पनि मन्त्रालयले बताएको छ । मन्त्रालयले यसको अतिरिक्त लकडाउनको पूर्ण पालना गरी सामाजिक दुरी कायम गर्नाले पनि यो भाइरसको संक्रमणबाट जोगिन सकिने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रकाशित/प्रसारित गरिएका जनचेतनामुलक सामग्रीहरुको भरपुर उपयोग गरेर कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथाममा हातेमाले गर्न पनि मन्त्रालयले आव्हान गरेको छ ।

त्यस्तै मन्त्रालयले मास्कको सही तरिकाले प्रयोग गर्न पनि सुझाएको छ । कोरोना भाइरस मुख्यतया फोक्सो र घाँटीमा रहने र कोरोना संक्रमितले हाछ्यूँ गर्दा वा खोक्दा मुखबाट निस्केका छिटाहरुमार्फत भाइरस फैलिने र अरुलाई सर्ने सम्भावना रहन्छ । ति छिटाहरु स्वस्थ व्यक्तिमा नाक, मुख र आँखाको माध्यमले सर्दछ । तसर्थ संक्रमित व्यक्तिबाट टाढै रहन तथा सही तरिकाले मेडिकल मास्क, पञ्जा र आई प्रोटेक्शनको प्रयोग गर्न मन्त्रालयले सुझाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.