२२ बैशाख, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले जारी लकडाउनलाई परिवर्तन गर्ने गरी लम्ब्याउन सुझाव दिएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा लकडाउनको मोडलबारे छलफल भएको थियो । समिति बैठकले लकडाउनको मोडालिटीको खाका तयार पार्न स्वास्थ्य, रक्षा, गृह मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएको छ ।
बैठकले लकडाउन थपेर संक्रमणको अवस्था हेरी विभिन्न ठाउँमा खुकुलो पार्न समेत सुझाव दिएको छ । समितिले कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा आपूर्तिलाई खुला गरेर लकडाउनको मोडालिटी बनाउन सुझाव दिएको छ । उद्योग र कलकारखाना लगायत उत्पादनमूलक उद्योग तथा दैनिक उपभोग्य वस्तुको बिक्री÷वितरणमालाई पनि सावधानीसाथ सहज पार्न पनि समितिले सुझाव दिएको छ
बैठकमा ठाउँको अवस्था हेरी ग्रीन जोन, रेड जोन, एल्लो जोन गरी छुट्याउनेबारे छलफल भएको छ । काठमाडौं उपत्यकालाई भने ग्रीन जोन मै परे पनि तत्काल लकडाउन नखुलाउने छलफल भएको छ । काठमाडौंको जनघनत्वका कारण यहाँ संक्रमण फैलिँदा अन्य जिल्लालाई छिटो प्रभाव पार्न सक्ने भएकाले काठमाडौंमा लकडाउन कायम राख्न खोजिएको हो ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गते देखी सुरु गरेको लकडाउन जारी राखेको छ । जारी लकडाउन भने २५ गतेबाट सकिँदै छ ।
मंगलबार ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले समन्वय समितिका सदस्यहरुसंग छलफल गरेर लकडाउनको मोडालिटीलाई अन्तिम रूप दिने बताइएको छ ।